• १३ साउन २०८१, आइतबार

स्याङ्जा कांग्रेसको सम्मेलन माघ १० गते

blog

नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालय । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, माघ ८ गते । 
नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन माघ १० गते सदरमुकाम स्याङ्जामा हुने भएको छ । सम्मेलनलाई सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू जिल्ला आउनुहुने नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।

पहिलो सम्मेलनमा सहभागी हुन उपसभापति एवम् नेपाल सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, पार्टीका उपसभापति एवम् नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा स्याङ्जा आउनुहुने कार्यक्रम तय भएको छ ।

यसैगरी, सहमहामन्त्री जीवन परियार, नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य डा.शेखर कोइराला, केन्द्रीय सदस्य तथा नेपाल सरकार गण्डकी प्रदेश ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायत जिल्ला आउनुहुने कांग्रेस स्याङ्जाका सभापति तथा सङ्घीय सांसद राजु थापाले जानकारी दिनुभयो ।

पहिलो सम्मेलन सफल पार्न विभिन्न उपसमिति गठन गरिएको स्याङ्जा कांग्रेसले जनाएको छ । सम्मेलनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशेष भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई विशेष सम्मान गरिने कांग्रेस सभापति थापाले बताउनुभयो ।