• १३ साउन २०८१, आइतबार

कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया

blog

कर्णाली प्रदेश अस्पताल । फाइल तस्बिर

भेरीगङ्गा (सुर्खेत), माघ ८ गते । कर्णाली प्रदेश अस्पतालको सेवा थप गुणस्तरीय बन्दै गएको छ । पछिल्लो समय अस्पतालले मिर्गौला प्रत्यारोपणसहित विशेषज्ञ सेवा सुर्खेतमा दिन थालेको हो । प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृति मानिएको स्पाइनल इन्जुरी (मेरुदण्ड) को सफल शल्यक्रिया गरेको छ ।

अस्पतालमा हालसम्म ५१ जनाको मेरुदण्डको सफल शल्यक्रिया गरिएको अस्पतालका अर्थाेपेडिक विभागका प्रमुख डा.शुभ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वर्षदेखि अस्पतालमा स्पानल इन्जुरीको शल्यक्रिया हुँदै आएको छ ।

सुर्खेतमै शल्यक्रिया सेवा सुरु भएपछि कर्णालीका ढाडसम्बन्धी बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको डा. श्रेष्ठले बताउनुभयो । महँगो र जटिल प्रकृतिको रोग भएकाले ढाडको शल्यक्रिया गर्ने बिरामीका लागि अस्पतालले ‘विपन्न नागरिक औषधि उपचार कोष’ सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । 

वि.सं.२०७९ असारदेखि सञ्चालनमा आएको उक्त कोषबाट स्पाइनल इन्जुरीको शल्यक्रिया गरेका बिरामीले एक लाख बराबरको औषधि उपचार सेवा पाउँदै आएका छन् । आर्थिक अभावमा बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पतालले विपन्न नागरिक लागि उपचार कोष सञ्चालन गरेको जनाएको छ । 

पछिल्लो समयमा प्रदेश अस्पतालमा ठूला र जटिल प्रकृतिका उपचार सेवा सञ्चालन हुँदै आएका छन् । अर्थाेपेडिक विभागमा हाल डा. शुभ श्रेष्ठ, डा. पदम गिरी, डा. रवीन केसी, डा. तेजेन्द्र साउद, डा. किशोरकुमार विष्ट र डा. हिक्मत भण्डारीसहित छ जना चिकित्सक कार्यरत छन् ।

यसैबीच हालसम्म ५० भन्दा बढीको मेरुदण्डको सफल शल्यक्रिया गरेको अवसरमा अस्पतालले एक कार्यक्रमको आयोजना गरी केक काटेर खुसीयाली मनाएको छ । कार्यक्रमका अस्पताल विकास समितिका अध्यक्ष खड्क बसेल, अस्पतालका निर्देशक डा. डम्बर खड्कालगायत अर्थाेपेडिक विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो । रासस