• ७ जेठ २०८१, सोमबार

माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताहका कार्यक्रम

blog

काठमाडौं, माघ ८ गते । यही माघ १० गतेदेखि सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका छन् । काठमाडौँ महानगरपालिकाका अनुसार सहिद सप्ताह मूल समारोह समितिले कार्यक्रम सञ्चालन गर्ने छ ।

कार्यक्रमका बारेमा जानकारी दिन विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले सहिदहरूको स्मृतिमा उहाँहरूको योगदानको सम्मान गर्दै आयोजना गरिने कार्यक्रममा सहभागी हुन सर्वसाधारण सबैमा आग्रह गर्नुभएको छ ।

नागरिक स्वतन्त्रताका लागि राजनीतिक सङ्घर्षका क्रममा वि. सं. १९९७ सालमा पक्राउ परेका ४ सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दसहित विभिन्न समयका राजनीति आन्दोलनमा सहादत प्राप्त गर्ने योद्धाहरूको स्मरण तथा सम्मानमा सहिद सप्ताहका कार्यक्रम मनाउने गरिएको छ । शासकसामु माफी मागेर झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गरेका सहिदहरूको स्मृतिमा वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित मूल समारोह समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ ।

यस वर्ष काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रमुख सुनिता डङ्गोल, वडा नं. १२ का अध्यक्ष एवम् वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, वडा नं. ७ का अध्यक्ष विमलकुमार होडा, वडा नं. १५ का अध्यक्ष एवम् वित्त समितिका संयोजक ईश्वरमान डङ्गोल र वडा नं. २६ का अध्यक्ष एवम् सुशासन समितिका संयोजक ख्यामराज तिवारी सदस्य हुनुहुन्छ । समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।

सप्ताहको पहिलो दिन अर्थात् माघ १० गते शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गर्नुभएको स्थानमा स्मृति सभा हुनेछ ।

यी स्थानहरूमा महानगरपालिकाले सहिदहरूको पूर्ण कदको सालिक निर्माण गरेको छ । यस्तै, माघ १६ गते शान्तिबाटिकाबाट प्रभातफेरी सुरु गरेर लैनचौर सहिद पार्कमा ज्ञात अज्ञात सहिदहरूको स्मृतिमा सभा हुनेछ ।

विज्ञप्तिमा भनिएको छ, ‘‘प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरूको सपना स्मरण गर्दै सहिद दिवस मनाउन थालिएको हो । जेल सजाय भोगिरहेकै बेला राणा शासन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र १३ गते धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रूपमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो । माघ १५ गते शोभा भगवती किनारामा गङ्गालाल श्रेष्ठ र दशरथ चन्द एकले अर्कालाई देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उहाँहरूलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।’’

त्यस वर्षको माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो ।

त्यसपछि प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनहरूमा धेरै व्यक्तिहरूले सहादत प्राप्त गर्नुभएको छ । उहाँहरूको सबैको योगदानलाई सप्ताहका कार्यक्रममा सम्झना गर्ने तथा कदर स्वरूप स्मृति सभा गर्ने गरिएको हो ।