• १३ साउन २०८१, आइतबार

बस्तीमा चितुवा र भालु पस्न थालेपछि त्रास

blog

चितुवालाई नियन्त्रण लिन डिभिजन वन कार्यालयले बनाएको फलामको पासो । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ ८ गते । केही साता यता बस्तीमै चितुवा र भालु प्रवेश गर्न थालेपछि तनहुँका बासिन्दा त्रसित भएका छन् । व्यास नगरपालिका –६ को साँजा, सिसाघाट तथा बन्दीपुर गाउँपालिका –४ को टुँडीखेल लगायतका क्षेत्रमा चितवा र भानु नगरपालिका –१३ मा भालुले आतङ्क मच्चाएका छन् । 

साँझपख र बिहानको समयमा चितुवा देखिएकाले त्रास फैलिएको छ । दिनहुँजसो वयस्क चितुवा बस्तीमा आएकाले स्थानीय आतङ्कित बनेको साँजा टोल विकास संस्थाका सचिव कृष्ण ढुङ्गानाले जानकारी दिनुभयो । 

ढुङ्गानाले भन्नुभयो, ‘चितुवाको आक्रमणको त्रासले साँझकाे खाना दिउँसै खाएर सुत्नुपरेको छ ।’ बस्ती नजिकै घना जङ्गल रहेकाले साँझ र बिहानको समयमा हिँडडुल गर्न समस्या भोग्नुपरेको उहाँले बताउनुभयो । 

ढुङ्गानाका अनुसार गाईबस्तु र बाख्रा चराउन जाँदा दिउँसोको समयमा पनि चितुवा भेटिने गरेकाले गोठालाहरु डराउने अवस्था छ । डिभिजन वन कार्यालयसँग पासो राखेर नियन्त्रणमा लिन माग राखिएको ढुङ्गानाले बताउनुभयो । 

बन्दीपुर गाउँपालिका –४ को टुँडिखेल, बन्दीपुर अस्पताललगायतका क्षेत्रमा साँझकाे समयमा दैनिक चितुवा देखिन थालेकाले स्थानीयहरु आतङ्कित भएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो । साँझको समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको प्रधानले बताउनुभयो । 

साँझको समयमा बालबालिकालाई अस्पताल तथा टुँडिखेल मैदान वरपर जानबाट रोक्न अभिभावकलाई आग्रह गरिएको उहाँले बताउनुभयो । चितुवा देखिन थालेकाले टुुँडिखेल टोल विकास संस्थाको सक्रियतामा घर वरपरको झाडी सफा गर्ने काम भइरहेको प्रधानले जानकारी दिनुभयो ।  

भानु नगरपालिका –१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले मानव बस्तीमा दिनहुँ भालु आउनेगरेको बताउनुभयो । केही वर्षअघि भालु घरमै आएर आक्रमण गर्दा प्रेमबहादुर बानियाँ घाइते भएको र फेरि पनि आक्रमणमा परिने त्रास भएको बताउनुभयो । भालुको आतङ्क बढेकाले नियन्त्रण गर्न सोमबार डिभिजन वन  कार्यालयमा निवेदन दिएको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।