• १३ साउन २०८१, आइतबार

लिमीका स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा

blog

लिमीको स्वास्थ्य चाैकीमा पहिलो पटक हिउँदको समयमा उपचार गर्दै स्वास्थ्यकर्मी भण्डारी । तस्बिर : राजन रा

राजन रावत

हुम्ला, माघ ८ गते । नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीको स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त सुविधाको व्यवस्था गरिएको छ । जाडो महिनामा लिमीको स्वास्थ्य चौकीमा सधैँ स्वास्थ्यकर्मी नबस्ने प्रचलनलाई हटाउन स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा दिने व्यवस्था गरिएका हो ।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले लिमीको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी बसेर सेवा प्रदान गर्नका लागि सो चौकीमा खटिने स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा दिइने बताउनुभयो । उहाँले गाउँपालिकाको कार्यपालिकाले सो सुविधा दिने निर्णय भएको र त्यसमाथि नाम्खा गाउँपालिकामा लागु भएको एक एक पाईला नामक गैर सरकारी संस्थाले पनि प्रति महिना प्रति स्वास्थ्यकर्मीलाई दश हजार रुपियाँ अतिरिक्त सुविधा दिने भएको बताउनुभयो । 

गाउँपालिका र सहयोग संस्था गरी प्रति महिना १५ हजारसम्म अतिरिक्त सुविधा दिइने उहाँले बताउनुभयो । यो सुविधा जाडो महिनाको लागि मात्र प्रदान गरिनेछ । हाल लिमीको स्वास्थ्य चौकीमा दुई जना स्वास्थ्यकर्मी कार्यरत रहँदै आउनुभएको छ । जाडो महिनामा यसअघि कहिल्यै पनि स्वास्थ्यकर्मी लिमीमा बसेर सेवा प्रदान गर्ने गरिएको नभए पनि यसवर्ष भने गत मङ्सिर महिनाबाटै स्वास्थ्यकर्मी लिमीको हल्जीमा रहेको स्वास्थ्य चौकीमा बसेर सेवा प्रदान गर्दै आउनुभएको छ । 

यसअघि भने जेठबाट कात्तिक महिनासम्म मात्र लिमीको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको उपस्थिती रहने गरेको थियो । हाल लिमीको स्वास्थ्य चौकीबाट सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मी गोर्ख भण्डारी अतिरिक्त सुविधाको व्यवस्था भएपछि पहिलो पटक लिमीको स्वास्थ्य चौकीमा बसेर सेवा दिन थालिएको बताउनुभयो । उहाँले स्वास्थ्य चौकी रहेको हल्जी गाउँका बिरामीलाई स्वास्थ्य चौकी अन्य दुई वटा गाउँ तील र जाङगाउँका बिरामीलाई भने चारदेखि छ घण्टा पैदल हिंडेर गाउँमै पुगेर सेवा दिने गरिएको बताउनुभयो ।