• १३ असोज २०८१, आइतबार

यु–१९ विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग नेपालको हार

blog

काठमाडौँ, माघ ८ गते । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । नेपाल आठ वर्षपछि यु–१९ विश्वकपमा सहभागी भएको हो । हारबाट सुरुवात गरेको नेपालले आफ्नो दोस्रो खेल बुधबार पाकिस्तानविरुद्ध खेल्ने छ । समूह डीमा अफगानिस्तान पनि रहेको छ । एक दिनअघि पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले आठ विकेटको क्षतिमा ३०२ रनको विशाल योगफल तयार पारेको थियो । नेपालले जवाफमा नौ विकेटको क्षतिमा २३८ रन बनायो । विश्वकप यु–१९ क्रिकेटमा न्युजिल्यान्डले नेपाललाई हराएको यो पहिलो पटक हो । यसअघि यी दुई देशबिच दुई पटक भएको भिडन्तमा नेपालले बाजी मारेको थियो । सन् २००६ र सन् २०१६ मा भएको यु–१९ विश्वकपमा नेपालले न्युजिल्यान्डलाई हराएको थियो ।

तर आइतबार टेस्ट मान्यताप्राप्त न्युजिल्यान्डविरुद्ध नेपालले जितको ह्याट्रिक बनाउन सकेन । न्युजिल्यान्डका ‘वन डाउन’ ब्याट्सम्यान स्नेहित रेड्डीले अविजित १४७ रनको पालि खेलेपछि नेपाललाई पहिलो खेल कठिन बनेको हो । ब्याटिङ पिचमा न्युजिल्यान्डका दुवै प्रारम्भिक ब्याट्सम्यान टम जोन्स र ल्युक वाट्सन नेपालका तेज बलरविरुद्ध सहज देखिनुभएको थियो । यी दुवैले पहिलो पावर प्लेअफमा नै ५३ रन बटुले । स्पिनर सुभाष भण्डारीले ११ औँ ओभरमा वाट्सनलाई १४ रनमा बोल्ड गरेपछि पहिलो विकेटको साझेदारी भङ्ग भएको थियो ।

लेग स्पिनर तिलक भण्डारीले नेपाललाई दोस्रो सफलता दिलाउनुभयो । तिलकले अर्का प्रारम्भिक ब्याट्सम्यान जोन्सलाई ३३ रनमा बोल्ड गर्नुभयो । त्यसपछि अर्का स्पिनर दिपेश कँडेलले ओलिभर टिवेटयालाई शून्यमा सिकार बनाएपछि फटाफट तीन विकेट निकालेर नेपाल राम्रो स्थितिमा पुगेको थियो । तर रेड्डीले कप्तान ओस्कार जोन्सनसँग मिलेर चौथो विकेटका लागि १५७ रनको साझेदारी निर्वाह गरेपछि नेपालले खेलमा आफ्नो पकड गुमायो । सो साझेदारीमा रेड्डी र ज्याक्सनले चौका र छक्काको वर्षात् गरेर नेपाली बलरहरूको मनोबल कमजोर पार्नुभएको थियो । रेड्डीले १२५ बलको सामना गरी ११ चौका र पाँच छक्का प्रहार गर्नुभयो । ज्याक्सनको पालिमा पाँच छक्का र तीन चौका सामेल थियो । न्युजिल्यानडले अन्तिम १० ओभरमा ९९ रन जोडेको हो ।

नेपालका लागि सुभाषले १० ओभरमा ६० रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । गुल्सन झाले पनि दुई विकेट लिनुभयो । आकाश त्रिपाठीको भागमा पनि एक विकेट पर्‍यो ।

अर्जुनको सम्झनलायक पालि

नेपालले लक्ष्य पछ्याउन नसके पनि प्रारम्भिक ब्याट्सम्यान अर्जुन कुमालले विशेष ब्याटिङ गर्नुभयो । प्रारम्भिक ब्याट्सम्यान अर्जुनले १०४ बलमा १२ चौकासहित ९० रन बनाएर नेपाललाई खेलमा बनाइराख्नुभएको थियो । उहाँले रेड्डीले फालेको ३५ औँ ओभरमा लगातार चार चौका प्रहार गर्नुभएको थियो । अर्जुन ३८ औँ ओभरमा इवाल्ड स्युर्‍डरको बलिङमा छक्का प्रहार गर्ने चक्करमा क्याच आउट हुनुभयो । यु–१९ विश्वकपमा अर्जुन नेपालका लागि सर्वाधिक व्यक्तिगत रन बनाउने सूचीमा कनिष्क चौगाईंसँगै संयुक्त रूपमा दोस्रो स्थानमा उभिनुभएको छ । सन् २०१२ मा नामिबियाविरुद्ध अविजित ९८ रन बनाउने प्रदीप ऐरी यु–१९ विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्म्यानको सूचीमा शीर्ष स्थानमा हुनुहुन्छ ।

अर्जुनबाहेक नेपालका कप्तान देव खनाल र नवौँ क्रममा क्रिजमा आएका सुभाषको ब्याटिङ मात्र उल्लेखनीय रह्यो । देवले ३४ बलमा पाँच चौका र एक छक्कासहित ३६ रन बनाउनुभयो । नेपालले विशाल लक्ष्य पछ्याउने क्रममा कमजोर सुरुवात गरेको थियो । प्रारम्भिक ब्याट्सम्यान दीपक बोहरा पहिलो ओभरमा नै मासन क्लार्कको बलिङमा ज्याक कमिन्सको दर्शनीय क्याचमा आउट हुनुभयो । त्यसपछि म्याट रोवेको बलिङमा लाख्लान स्टाकपोलको अर्को सानदार क्याच लिएपछि आकाश पनि चाँडै पबेलियन फर्कनुभयो । आकाशको ब्याट्सबाट मात्र दुई रन निस्किए । त्यसपछि अर्जुनले कप्तान देवसँग मिलेर नेपाललाई खेलमा फर्काउने प्रयास गर्नुभएको हो तर नेपालका कप्तान देव विपक्षी कप्तान ज्याक्सनको सिकार बनेपछि नेपाल पूर्ण रूपमा दबाबमा पर्‍यो । अन्य ब्याट्सम्यानमा मध्यक्रमका ब्याट्सम्यान दीपक बोहरा १५, आकाश चन्द १४, गुलसन दुई तथा दिपेश र उत्तम मगर शून्यमा आउट हुनुभयो । सुभाषले तिलकसँग मिलेर अन्तिम विकेटका लागि ३७ रनको अविजित साझेदारी गरेपछि न्युजिल्यान्डले नेपालालई अल आउट भने गर्न सकेन । सुभाष ३३ र तिलक १७ रन बनाएर आउट हुनुभएन ।