• १३ साउन २०८१, आइतबार

अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण

blog

कोहलपुरका अतिविपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्दै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ ७ गते । चिसो बढेर जनजीवन अत्यधिक प्रभावित बनेपछि कोहलपुर नगरपालिकाले अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण सुरु गरेको छ । 

केही दिन यता बढेको कठ्याङ्ग्रिँदो चिसोले गर्दा ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी समस्यामा परेकाले गरिब, असहाय र विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ । 

कोहलपुर नगरपालिका महिला, बालबालिका तथा समावेशीकरण उपशाखा प्रमुख घटना शाहले दिनुभएको जानकारीअनुसार कोहलपुरको वडा –१ देखि १५ सम्मका ७५ जना विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्न सुरु गरिएको हो । 

कोहलपुर नगरपालिका वडा ११ निवासी अति विपन्न ७४ वर्षीया लादी थारुलाई नगर उपप्रमुख सङ्गीता सुवेदीले कम्बल प्रदान गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

उपप्रमुख सुवेदीले विपन्नमा पनि अति विपन्न ज्येष्ठ नागरिकलाई जाडोमा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको बताउनुभयो । उहाँले सकेसम्म सबै ज्येष्ठ नागरिकलाई यो कार्यक्रममा समेट्न खोजिए पनि सीमित स्रोत साधनका कारण विपन्नमा पनि अति विपन्नको पहिचान गरेर कम्बल प्रदान गर्नुपरेको बताउनुभयो । 

वडा ११ की वडाध्यक्ष कल्पना अधिकारीले चिसोमा आवश्यकताको पहिचान गरेर वडाका अति विपन्न ज्येष्ठ नागरिकको छनौट गरी उहाँहरूलाई न्यानो कपडा प्रदान गरिएको जानकारी दिनुभयो ।

उहाँले वडाले पहिचान गरेका गरिबमा पनि अति गरिब ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन केही हदसम्म सहज होस् भन्ने उद्देश्यले पालिकाले सहयोग गरेको बताउनुभयो । 

अत्यधिक चिसोका कारण समस्यामा परेका विपन्न ज्येष्ठ नागरिकले न्यानो कम्बल पाउँदा खुसी व्यक्त गर्नुभयो । वडा नम्बर ११ निवासी अति विपन्न ७४ वर्षीया लादी थारुले कम्बल पाएपछि नयाँ जीवन पाएको अनुभूति भएको प्रतिक्रिया दिनुभयो । 

उहाँले न्यानो लुगा नहुँदा चिसोले रातभरि निन्द्रा नपर्ने अवस्था रहेका बेला यो कम्बल पाएकाले अब आरामले सुत्न पाइने बताउनुभयो । पहिलो दिन १० वटा वडाका ५० जना विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको नगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण उपशाखामा कार्यरत तारा भण्डारीले बताउनुभयो । 

उहाँले आइतबार वडा ३, १०, १२, १४ र १५ का विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्ने योजना रहेको बताउनुभयो । नगरपालिकाका अनुसार एउटा वडामा पाँच जनाका दरले १५ वटा वडाका ७५ जना विपन्न ज्येष्ठ नागरिकको पहिचान गरेर कम्बल वितरण गर्न सुरु गरिएकोमा त्यसका लागि दुई लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो ।