• १३ साउन २०८१, आइतबार

तीनसय ७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

blog

शिविरमा नागरिकको स्वास्थ्य जाँच गर्दै स्वास्थ्यकर्मी । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, माघ ७ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–६ सिधनवामा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३ सय ७ सय जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

शनिबार स्थानीय सिद्धेश्वर माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको सो शिविरबाट वडा ६ र ७ अन्तर्गतका १९ वटा गाउँका तीनसय ७ जना सर्वसाधारणलाई निःशुल्क रूपमा स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको वडा ६ का अध्यक्ष लबराज खरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजना तथा नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा सम्पन्न सो शिविरमा ४६ जना पुरुष र एकसय ११ जना महिलासहित एक सय ५७ जनाले जनरलतर्फ स्वास्थ्य परीक्षण गराउनुभयो । 

शिविरमा आँखा परीक्षणतर्फ एकसय १ जना महिला र ४९ जना पुरुष गरी एकसय ५० जनाले आँखा परीक्षण गराएर औषधी समेत निःशुल्क प्राप्त गर्नुभएको थियो ।

उक्त शिविरमा राप्तीसोनारी गाउँपालिका वडा ६ र ७ को लालपुर, जोरइया, हापुरा, मोहनपुर, सर्री, छटकपुर, कमईडाँडा, निबुवाटार, पनेरिया, विशम्भरपुर, छपरतल्ली, पदनहा, हबरहवा, बमलहवा, सिधनवा, ढलैइया, गुलरी, भलगडिया, टेपरीलगायतका बासिन्दाले सेवा लिनुभयो । 

नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको १२ औँ वार्षिकोत्सव पारेर आयोजना गरिएको सो शिविर कार्यक्रममा वडाध्यक्ष खरेलले वडा ६ र ७ अन्तर्गतका ग्रामीण समुदायका बिरामीहरूले निःशुल्क स्वास्थ्य परीक्षण र औषधी उपलब्ध गराएकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गर्दै हरेक वर्ष एक पटक शिविर सञ्चालन गर्न आग्रह गर्नुभयो ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रका अध्यक्ष लता शर्माले विद्यार्थीको आकस्मिक स्वास्थ्य समस्याको तत्काल उपचारका लागि केन्द्रको तर्फबाट राप्तीसोनारी गाउँपालिका–६ सिधनवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजारु थारुलाई प्राथमिक उपचारबक्स पनि प्रदान गर्नुभयो । सो बक्समा आकस्मिक स्वास्थ्य समस्याका लागि आवश्यक पर्ने करिब २० थरी औषधी उपलब्ध छ ।

शिविरमा नेपालगन्ज मेडिकल कलेज कोहलपुरका डा. हर्षित पाठक, डा. आशिष् न्यौपाने र नेत्ररोग विशेषज्ञ जीतेन्द्रकुमार वर्मासहित स्टाफ नर्सहरू दिपा थापा र सञ्जु लामाको टोलीले स्वास्थ्य परीक्षण गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारी उपशाखाका अध्यक्ष तथा सहकारी संस्थाका व्यवस्थापक दिव्या गुरुङले जानकारी दिनुभयो ।