• १३ साउन २०८१, आइतबार

राम मन्दिरको प्राण प्रतिष्ठा : जनकपुरमा उत्सव तयारी

blog

जनकपुरधाममा रहेको जानकी मन्दिर । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, माघ ७ गते । भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ । 

मन्दिरका महन्थ रामतपेश्वर दासले राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुको साथै विशेष आरती गरिने बताउनुभयो । यसका साथै सोमबार उत्सवको रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गर्नुभयो । 

उहाँले सो उत्सवलाई ध्यानमा राखेर तयारी तीव्र बनाइएको र कार्यक्रममा सबैलाई उपस्थित हुन पनि आग्रह गर्नुभयो । राम मन्दिरको उदघाटनको दिन दुवै मुलुकका लागि विशेष भएकाले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन उहाँले सबैलाई आग्रह गर्नुभयो ।  

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरको तर्फबाट चाँदीका धनुष वाण लगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूल लगायत तीन हजार बढी कोसेली अयोध्या पठाइसकेको छ । 

राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी हुन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र मन्दिरका उत्तराधिकारी रामरोशन दास बिहीबार अयोध्या पुग्नुभएको छ ।  अयोध्याको राम मन्दिरबाट निम्तो आएपछि उहाँहरू त्यसतर्फ जानुभयो । उहाँहरू बाहेक मधेश प्रदेशमा राम मन्दिरको तर्फबाट कसैलाई पनि निम्तो आएको छैन । 

माघ ८ गतेलाई सार्वजनिक बिदा दिन माग गर्दै जानकी मन्दिरका उत्तराधिकारी दासले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ज्ञापनपत्र बुताउनुभयो । सो ज्ञापनपत्रमाथि अहिलेसम्म कुनै निर्णय नभएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ । 

अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेश प्रदेशका अधिकांश मठमन्दिर रङ्गरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम अङ्कित झण्डा झुण्ड्याइएको छ । 

सयौँ वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसीयालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले सोमबारका लागि सार्वजनिक बिदा दिनुभएको छ ।