• २३ असार २०८१, आइतबार

कारागारमा चार गुणा बढी कैदीबन्दी

blog

प्युठान समाचारदाता 

प्युठान, माघ ७ गते । राणाकालीन समयमा घोडा राख्न बनाइएको तबेलामा बस्दै आएका कैदीबन्दीलाई भौतिक पूर्वाधारमा सुधार नहुँदा समस्या भएको छ । दिनप्रतिदिन कैदीबन्दी थपिँदै जाँदा अहिले २५ जना बस्न मिल्ने कारागारमा आठ महिला र ८५ पुरुष कैदीबन्दी बस्न बाध्य भएका छन् । कैदीबन्दीलाई राख्ने भवन जीर्ण हुँदा कैदीबन्दीलाई थप समस्या परेको छ । कारागार प्युठानका निमित्त प्रमुख सूर्यबहादुर पन्तले क्षमताभन्दा बढी र पुरानो भवनले उनीहरूको व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “क्षमताभन्दा बढी कैदीबन्दी भएकाले समस्या परेको छ । धेरै कैदीबन्दी हुँदा सुत्न समस्या हुने गरेको छ ।” पहिले १५ जनाको क्षमता भए पनि पछि दुई वटा कोठा थप गरेर १० जनाको क्षमता बढेको उहाँको भनाइ छ । कारागार भवन मर्मतपछि पानी चुहिने समस्या भने समाधान भएको उहाँले बताउनुभयो । पुरानो भवनमा बस्नुपर्दा जतिबेला पनि डर/त्रास हुने गरेको कैदीबन्दी बताउँछन् । कारागारलाई सुधार गृहका रूपमा परिणत गर्ने भने पनि अवस्था दयनीय भएको उनीहरूको गुनासो छ ।

मानव अधिकारवादी संस्था इन्सेकका जिल्ला प्रतिनिधि रवीन्द्र पाण्डेले कारागारलाई सुधार गृहका रूपमा परिणत गर्नुपर्ने आवाज उठिरहेका बेला प्युठानका कैदीबन्दीले कष्टकर जीवन बिताउन बाध्य भएको बताउनुभयो । उहाँले बेला बेलामा कारागारको अवस्थाबारे बुझ्ने र सुझाव दिने गरेको बताउनुभयो । मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्काले  जिल्ला कारागार भवन निर्माणका लागि १३ रोपनी जग्गा स्थानीयले उपलब्ध गराए पनि भवन बनाउन बजेट प्राप्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “जग्गा खरिद गर्न पालिकाले समेत पाँच लाख रुपियाँ खर्च गरेको छ । केन्द्र सरकार र प्रदेश सरकारको ध्यान नपुग्दा त्यो जग्गासमेत प्रयोगमा आउन सकेको छैन ।”