• १३ साउन २०८१, आइतबार

हराउँदै छ कठरिया थारु पहिचानको घर

blog

कैलालीको पवेरामा रहेको कठरिया मौलिक घर । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ ६ गते । कठरिया थारु समुदायको पहिचान झल्काउने परम्परागत घर अहिले हराउन थालेको छ । कङ्क्रिटको घर निर्माण गर्नेक्रम बढेसँगै कठरियाको पहिचान झल्काउने परम्परागत घर हराउन थालेको हो । 

केही दशक पहिले कैलालीको विभिन्न गाउँमा प्रकृति र संस्कृतिप्रेम झल्काउने त्यस्ता घर थुप्रै देखिन्थ्यो । तर आधुनिकता र बदलिँदो आर्थिक अवस्थासँगै त्यस्ता घर मासिन थालेको छ । अचेल बिरलै गाउँमा कठरिया थारु समुदायको त्यस्ता घर देख्न पाइन्छ । 

विगतमा माटोले बनेको कच्ची घरमा कला र सुन्दरता झल्किन्थ्यो । घरको भित्तामा चराचुरुङ्गी, हरिन, थरिथरिको फूल बनाएर सजाउने गरिएको थियो । तर, पछिल्लो समय हट्दैगएको फुसको छानोसँगै यो समुदायको घरको मौलिकपन पनि हराउँदै गएको छ । अचेल कठरिया गाउँमा भव्य महल समेत बन्दैछ । विगतजस्तो मौलिकपन र पहिचान भने त्यसमा देखिँदैन ।  

घरको भित्तामा चित्र बनाउन धेरै मिहिनेत लाग्ने गरेकाले कठरिया थारुको मौलिक पहिचान झल्काउने घर हराउँदै कैलारी गाउँपालिका –८ का वडा अध्यक्ष तारामल कठरियाले बताउनुभयो । 

उहाँले अगाडि थप्नुभयो, “घरको भित्तामा अहिलेको पुस्ताले रङ्गीबिरङ्गी चित्र बनाउन सक्दैनन् । न त उनीहरुसँग त्यति गर्न समय छ ।” सीप र समयको अभावका कारण कठरिया थारु पहिचानको घर हराउँदै गएको कठरियाको भनाइ छ । 

नेपालमा कठरिया थारु समुदायको बसोबास कैलाली, बर्दिया र नवलपरासीमा मात्रै छ । सबैभन्दा बढी कठरिया कैलालीमा रहेका छन् । कैलालीको जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिकामा प्रायः सबैतिर कठरिया थारु बसेका छन् । यसैगरी, घोडाघोडी नगरपालिकाको सिसैया, तप्पा, भजनी नगरपालिकाको चर्रा, कैलारी गाउँपालिकाको पवेरा, मनाउँ, मझरा, लौसामा पनि कठरिया थारु बस्दैआएका छन् । 

जिल्लास्थित कठरिया थारु बसोबास रहेको गाउँमध्ये पवेरा, तप्पा र सिसैया गाउँको केही घरमा मात्रै अचेल कठरिया थारु पहिचानयुक्त घर बचेको वडा अध्यक्ष कठरियाले बताउनुभयो । “बाँकी अरू गाउँमा त कुन थारुको घर हो, वा कुन कठरियाको घर भनेर छुट्टयाउनै सकिन्न” उहाँले भन्नुभयो । 

यो समुदायको मानिसले माटोको नयाँ घर बनाउँदा घरको भित्तामा मयूर, हरिन, चरा, माछा, फूल लगायतका चित्र बनाएर त्यसलाई रङ्गाउने चलन थियो । अचेल माटैको नयाँ घर बने पनि त्यस्ता चित्र बनाइँदैन । अल्पमतमा रहेको समुदायको संस्कृति प्रवर्द्धनमा कसैको चासो नहुनू र कठरिया थारु बुद्धिजीवीको कमीकमजोरीका कारणले कठरिया पहिचानको घर हराउँदै गएको युवा स्रष्टा सुवेश कठरियाको भनाइ छ । 

उहाँले कठरिया थारु समुदायको संस्कृति, संस्कार संरक्षणका लागि सम्बन्धित निकायमा पहल गर्दा सुनुवाइ नहुने गरेको गुनासो गर्नुभयो । थारु आयोग, थारु मञ्चजस्ता निकायले पनि कठरिया थारु समुदायको संस्कृति, पहिचान संवर्द्धनमा ध्यान नदिएको उहाँको जिकिर छ । 

कठरिया थारु समुदायको हराउँदै गएको संस्कृति, संस्कार, मौलिकपन जोगाउनका लागि कठरिया समाज नेपालले सो समुदायमा सचेतना फैलाउनुका साथै पैरवी पनि गरिरहेको छ । समयअनुसार चल्नु पर्ने भएकाले पहिलेजस्तै माटो र काठकै घर नबनाए पनि पक्की घर बनाउँदा समेत मौलिक पहिचान झल्किने गरी कलात्मक चित्र बनाउन समुदायमा छलफल चलाएको समाजका अध्यक्ष दुःखीराम कठरियाले बताउनुभयो । 

“कठरिया पहिचानको घर निर्माण फेरि सुरुवात गर्नका लागि समाज लागिपरेको छ” उहाँले भन्नुभयो, “किनभने, त्यो हाम्रो पहिचान हो । यसका साथै, भाषा, लिपी, शब्दकोश निर्माणका लागि हामीले काम गरिरहेका छौँ ।” समाजका अनुसार नेपालमा कठरिया समुदायको जनसङ्ख्या ४० हजारदेखि ५० हजारसम्म रहेको अनुमान छ ।