• १९ असार २०८१, बुधबार

दुई दशकपछि शैक्षिक क्यालेन्डर लागु गर्दै त्रिवि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ६ गते । त्रिभुवन विश्वविद्यालयले यस वर्ष भर्ना भएका विद्यार्थीका लागि सञ्चालन हुने भर्ना, पढाइ, परीक्षा तथा नतिजाको कार्यतालिका समेटेर शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । विद्यार्थी भर्नादेखि परीक्षाको नतिजासम्म नियमित नभएको भन्ने आरोप खेपिरहेको त्रिविले समयसीमा नै तोकेर क्यालेन्डर सार्वजनिक गरेको हो । त्रिविमा २०६२/६३ को आन्दोलनपछि शैक्षिक क्यालेन्डर नियमित हुन सकेको छैन । 

शैक्षिक क्यालेन्डरमा वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालन हुने स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालन हुने स्नातकोत्तर तहको कार्यव्रmम समावेश छ । त्रिविको परीक्षा सुधार तथा समन्वय परिषद्को माघ ३ मा बसेको बैठकले शैक्षिक क्यालेन्डर प्रकाशित गर्न स्वीकृति दिएको थियो । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको हो । 

सार्वजनिक गरिएको शैक्षिक क्यालेन्डर अनुसार हाल स्नातक तह प्रथम वर्ष पढिरहेका विद्यार्थीको परीक्षा आगामी २०८१ को भदौ दोस्रो हप्ताबाट हुने छ । सेमेस्टर प्रणालीको भने प्रथम सेमेस्टरको परीक्षा २०८१ को वैशाखबाट हुने छ । त्यस्तै स्नातकोत्तर तहको प्रथम सेमेस्टरको परीक्षा २०८१ को असारमा हुने छ । तालिका अनुसार नै पढाइ तथा परीक्षाको काम भयो भने हाल प्रथम वर्षमा पढिरहेका विद्यार्थीले चौथो वर्षको परीक्षा २०८४ साल वैशाख दोस्रो साताबाट हुने छ । 

भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थान अन्तर्गत सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका शैक्षिक क्यालेन्डर सम्बन्धित डिन कार्यालयको वेबसाइटमा हेर्न सकिने पनिकाले जनाएको छ । पछिल्लो समय शैक्षिक क्यालेन्डर नियमित नहुँदा विद्यार्थीले हैरानी खेप्नु परेको भन्दै विश्वविद्यालयको सर्वत्र आलोचना हुने गरेको छ । शैक्षिक क्यालेन्डर नियमित नहुँदा प्रथम वर्षमा भर्ना भएका चारवर्षे स्नातक तहका विद्यार्थीले पढाइ सम्पन्न गर्न पाँच/छ वर्ष कुर्नुपर्ने अवस्था छ तर परीक्षा नियन्त्रण कार्यालयले भने कर्मचारी अभावमा आफूहरूले चाहेर पनि काम गर्न नसकेको दाबी गर्ने गरेको छ । यस पटक भने विश्वविद्यालय प्रशासनले आफूहरूलाई थप कर्मचारी दिने प्रतिबद्धता जनाएकोले शैक्षिक क्यालेन्डर कार्यान्वयन गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो । 

उहाँका अनुसार पनिकामा कुल २४४ जना कर्मचारीको दरबन्दी छ तर हाल १२३ जना मात्रै काममा छन् । उहाँले यस पटक थप १५ जना कर्मचारी थप्ने प्रतिबद्धता विश्वविद्यालयका नेतृत्वबाट आएको बताउनुभयो ।