• १३ साउन २०८१, आइतबार

जिल्ला प्रशासनद्वारा विपन्नलाई सिरक वितरण

blog

डाक्नेश्वरी –६ श्री बस्तीका विपन्नलाई सिरक हस्तान्तरण गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी किरण थापा लगायत । तस्विर : ललिता साह

ललिता साह

बोदेवर्साइन (सप्तरी), माघ ५ गते । शीतलहरले मधेसमा चिसो बढेपछि जाडोबाट बचाउन जिल्ला प्रशासन कार्यालय अन्तर्गतको जिल्ला दैवी प्रकोप उद्धार व्यवस्थापन समितिले विपन्न परिवारलाई सिरक वितरण गरेको हो । 

आज डाक्नेश्वरी वडा – ६ मा ३५ थान सिरक वितरण गरेको प्रशासन कार्यालयले जनाएको छ । यस्तै, राजविराज –२ स्थित रहेका आशिया पार्टी प्यालेसले ३२ जना विपन्नलाई कम्बल वितरण गरेको प्यालेसका संचालक मोह्मद अकवरले जानकारी दिनुभयो ।

सोहीअनुसार राजविराज वडा ९ कृष्णनगरका सदा बस्तीमा जिल्ला प्रशासनले २५ थान फाइवर सिरक वितरण गरेको जनाएको छ । जिल्ला दैवी प्रकोप उद्धार व्यवस्थापन समितिले गत वर्ष खरिद गरिराखेको एक सय ५२ थान फाइवरको सिरक सदा वस्तीको वृद्ध, अपाङ्ग, सुत्केरी, एकल महिलालाई वितरण गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।

गत सातादेखि जिल्लामा चलेको शीतलहरले चिसो बढेको र दलित विपन्न समुदाय प्रभावित हुँदैआएका थिए । त्यस्ता विपन्न वर्गलाई शीतलहरबाट जोगाउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका सुरक्षा संयन्त्रसहितको उपस्थिति र वडा अध्यक्षको समन्वयमा नागरिकलाई निरन्तर न्यानो सिरक वितरण थालिएको सप्तरी प्रहरी प्रमुख गज्जु सिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।