• १९ असार २०८१, बुधबार

भजनी र जोशीपुर गाउँपालिकाका विद्यालयमा जाडो बिदा

blog

जाडोमा विद्यालय जाँदै विद्यार्थी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ ५ गते । कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका विद्यालयमा जाडो बिदा दिइएको छ । चिसोका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्य समस्या देखा पर्न थालेपछि पालिकाहरुले कार्यपालिकाको बैठकबाट निर्णय गरेर विद्यालयमा बिदा दिएका हुन् । 

भजनी नगरपालिकाको कार्यपालिका बैठकले माघ ५ देखि ८ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको हो । यस्तै, जोशीपुर गाउँपालिकाले माघ ७ देखि ९ गतेसम्म तीन दिन विद्यालयमा जाडो बिदा दिएको छ । 

सो पालिकाको आज बसेको कार्यपालिका बैठकले जाडोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले जाडो बिदा दिने निर्णय गरेको छ । यसअघि, घोडाघोडी नगरपालिकाले हिजोआज जाडो बिदा दिएको थियो । 

कैलालीसहित पश्चिम तराईमा शीतलहर–हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ । केही दिनदेखि घाम नलाग्दा यहाँको न्यूनतम तापक्रम कम हुँदैगएको छ । जसका कारण अत्यधिक जाडो भइ जनजीवन प्रभावित भएको हो । चिसोका कारण बालबालिका, वृद्धवृद्धा, दैनिक ज्यालादारीमा काम गरेर गुजारा गर्ने मजदुरलगायत विपन्न समुदायका व्यक्ति बढी प्रभावित भएका छन् । 

चिसोले गर्दा विद्यार्थीलाई विद्यालय जान समस्या हुनुका साथै मान्छेको नियमित कामकाजमा बाधा भइरहेको छ । विद्यार्थी पर्याप्त बाक्लो कपडा नलगाई विद्यालय पोशाक लगाएर मात्र विद्यालय जाँदा उनीहरुको स्वास्थ्यमा समस्या भइरहेको छ । 

केही दिन यता बढेको अत्यधिक चिसोका कारण साना बालबालिका, ज्येष्ठ नागरिक, विद्यार्थीलगायतलाई समस्या भइरहेको धनगढी उपमहानगरपालिका –८ का ललिता सोबले बताउनुभयो । 

जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलालीको न्यूनतम तापक्रम निरन्तर घटिरहेको छ । हिजो धनगढीको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस मापन भएकोमा आज ९.६ डिग्री सेल्सियसमा झरेको छ । पारदर्शिता भने एक हजार ३०० मिटर रहेको महाशाखाद्वारा आज बिहान प्रकाशित बुलेटिनमा उल्लेख छ ।