• १६ भदौ २०८१, आइतबार

सिमसार क्षेत्रमा जलपन्छीको सङ्ख्या बढ्यो

blog

घोडाघोडी तालमा देखिएका पाहुना चरा मरुलको समूह । तस्विर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), माघ ५ गते । जैविक विविधताले महत्वपूर्ण तथा पहिलो चरा अभय आरण्य क्षेत्र कैलालीको घोडाघोडी रामसार क्षेत्रमा यस बर्षको हिउँदे जलपन्छी गणना सकिएको छ । 

चराविद्सहितको समूहले घोडाघोडी क्षेत्रमा गरेको जलपन्छी गणना पछिको तथ्याङ्कअनुसार गत वर्षभन्दा यस वर्ष चराको सङ्ख्या बढेको देखिएको छ । नेपाल पन्छी संरक्षण सङ्घका फिल्ड मेनेजर तथा चराविद् हिरुलाल डंगौराले यस वर्ष घोडाघोडीमा रैथाने र पाहुना गरी एक हजार २३१ सङ्ख्यामा जलपन्छी गणना भएको बताउनुभयो ।

उहाँले गत वर्ष ८५५ वटा मात्र जलपन्छी गणना भएको उल्लेख गर्दै गत वर्षको तुलनामा यो बर्ष बढेको बताउनुभयो । घोडाघोडी सिमसार क्षेत्रमा पाइने पन्छीमध्ये ७० प्रजातिका जलपन्छी छन् । संरक्षणकर्मीका अनुसार पन्छीको सङ्ख्यामा फेरबदल हुनु पारस्थितिकीय प्रणालीमा आएको परिवर्तन मुख्य कारण हो । 

गतवर्ष गरिएको गणनामा १७ प्रजातिका जलपन्छी भेटिएकोमा यस वर्ष ३६ प्रजातिका भेटिएका छन् । ३६ प्रजातिमध्ये सिलसिले हाँस, नाडुन हाँस, बगाले सिमकुखुरा, लामऔंले लगायत १३ प्रजाति रैथाने प्रजातिका हुन् ।

चराविद्का  अनुसार सन् २००३ मा रामसार साइडमा सूचीकृत हुँदा घोडाघोडी क्षेत्रमा २० हजारको सङ्ख्यामा जलपन्छी रहेको पाइएको थियो । दुई दशकको अवधिमा घोडाघोडीमा जलपन्छीको सङ्ख्या एक हजार २३१ मा सीमित भएको छ । घोडाघोडी सिमसार क्षेत्रमा दुई दशक अवधिमा जलपन्छीको सङ्ख्या घटेको पाइएको छ ।

घोडाघोडी क्षेत्रलाई रामसारमा सूचीकृत गर्ने बेला सरकारले पेस गरेको प्रतिवेदनमा यस क्षेत्रमा रैथाने र पाहुना गरी २० हजार जलपन्छी रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा मात्र पाइने चरामध्ये हरिहाँस, बगाले सीमकुखुरा र नादुल हाँसले घोडाघोडीमा प्रजनन गर्ने सो प्रतिवेदनमा उल्लेख थियो । सन् १९८७ देखि बर्सेनी सिमसारमा आश्रित पानीचराको गणना गरिँदैआएको छ । गणनाले जलपन्छीको अवस्था सङ्कटाेन्मुख देखाएको छ ।

बर्सेनि गणनामा संलग्न चराविद्का अनुसार रैथानेमा नट्टा हाँस २०१८ पछि देखिएको छैन । आगन्तुकमा कैले टाउके हाँस, बिजुला गैरी हाँस, सुनजुरे हाँस, सिन्दुरे हाँस, खडखडे हाँस, हरियो टाउके हाँस गत वर्ष नदेखिएका चरा यो वर्ष देखिएको चराविद् डंगौराले बताउनुभयो । 

उहाँका अनुसार सुइरेपुछ्रे हाँस २०१४ यता घोडाघोडीमा देखिएको छैन । पाहुना चराको रुपमा आउने मरुलको सङ्ख्या पनि पहिलेभन्दा कम देखिन थालेका छन् । उत्तरी ध्रुवमा हिमपात सुरु भएसँगै त्यहाँका चराहरू बसाइँ सर्न थालेका छन् । 

चीन, रुस, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गर्छन् । त्यस्तै, मध्यएसियाका तुर्कमिनिस्तान, किर्किस्तान र साइबेरियाबाट पाहुना चरा यहाँ आहार खोज्दै आउँछन् ।

यहाँ बर्सेनि १ सय ५० बढी प्रजातिका चरा आउनेगरेको अभिलेख छ । चिसोले त्यहाँ आहारविहार र खानपानमा समस्या भएपछि जाडो छल्न नेपाल आउनेगरेको चराविद्को भनाइ छ । सेप्टेम्बरको अन्तिम सातादेखि आउन सुरु गर्ने ती चराहरू मार्चमा फर्किन्छन् ।

नेपाल पन्छी संरक्षण संघका अनुसार घोडाघोडीमा जलपन्छी, वन क्षेत्रमा बस्ने चरा, घाँसे मैदानमा हुने चरा, खेतबारी र खुला स्थानमा बस्नेगरी ३ सय ८० प्रजातिका चरा रहेको अभिलेख छ । कैलालीमा भइरहेको जलपन्छी गणना नेपाल पन्छी संरक्षण सङ्घको अगुवाइमा डिभिजन वन कार्यालय पहलमानपुर र चरा संरक्षण नेटवर्क गरी १७ जना संरक्षणकर्मी सहभागी रहेको चराविद् डंगौराले जानकारी दिनुभयो ।