• २० असोज २०८१, आइतबार

बलिदानी सहकारीका अध्यक्ष र लेखा सदस्यलाई थुनामै राख्न आदेश

blog

उच्च अदालत पोखरा । फाइल तस्बिर

लेखनाथ, माघ ५ गते। उच्च अदालत पोखराले बलिदानी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई थुनामै राख्न उच्च आदेश दिएको छ। 

न्यायाधीशद्वय राजप्रसाद भट्टराई र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले श्रेष्ठ र थापालाई थुनामा राख्ने जिल्ला अदालतकै आदेशलाई सदर गरिदिएको हो। 

श्रेष्ठ र थापालाई जिल्ला अदालत कास्कीले मङ्सिर ३ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो। पोखरा–९, पृथ्वीचोकमा कार्यालय रहेको यो सहकारीमा बचतकर्ताको रकम अपचलन भएको अभियोगमा गत कात्तिक २५ गते अध्यक्ष श्रेष्ठ र थापालाई कास्की प्रहरीले पक्राउ गरेको थियो। 

जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएर मुद्दा लड्न माग गर्दै श्रेष्ठ र थापाले उच्च अदालतमा निवेदन दिएका थिए। बलिदानी सहकारीबाट एक हजारभन्दा बढी बचतकर्ताको १० करोड रुपियाँ अपचलन भएको सञ्चालक समितिलाई आरोप लागेको छ। 

कास्की प्रहरीले सहकारीका १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा छ जना पक्राउ परिसकेका छन् भने बाँकी नौ जना अझै फरार छन्। पक्राउ परेकामध्ये तीन जना धरौटीमा रिहा भएका छन्।