• १३ साउन २०८१, आइतबार

सेयर बजारमा उत्साह

blog

पुस सकिएसँगै तीन महिनाका लागि ब्याज तिर्ने दबाब सकियो । माघमा बैङ्कहरूले ब्याजदर घटाएको समाचार पनि आयो । गत मङ्गलबारको सेयर कारोबारमा नेप्सेले ५४.५४ अङ्कको उच्च बढोत्तरीसहित २२ सयको बिन्दु पछ्याउनुमा यी दुई कारण पनि हुन सक्छ । कारोबार रकम एकै दिन आठ अर्बमाथि पुग्यो । मङ्गलबार आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार ४०६ रुपियाँको कारोबार भयो । सेयर बजारमापक नेप्से परिसूचक दुई हजार १७५.१७ को बिन्दुमा पुग्यो । बुधबार भने बजार सामान्य अङ्कले घट्यो । बुधबार नेप्से २२०० को बिन्दु पारे गरे पनि अन्त्यमा १२.१० अङ्कले घट्यो । बुधबार कारोबार रकम भने नौ अर्ब ७६ करोडभन्दा बढी हुनुले बजारमा सेयरको माग अझै छ र आगामी दिनमा बजार माथि जाने वातावरण निर्माण हुँदै छ भन्ने सङ्केत गरेको छ । साताको अन्तिम दिन बिहीवारको कारोबारमा पनि करेक्सनलाई निरन्तरता दिँदै ७.२४ अङ्कको गिरावट सहित  नेप्से २१५५.८२ को बिन्दुमा आईपुगेको छ । कारोबार भने ८ अर्ब १७ करोड भन्दा बढी हुनुले बजारमा सेयरको माग अझै उच्च रहेको सङ्केत गर्दछ । 

सेयर बजारमा आएको यो उछाल र सामान्य करेक्सन दिगो हुने हो वा होइन भन्ने प्रश्न हरेक लगानीकर्तामा आउनु स्वाभाविक नै हो । आगामी दिनमा सेयर बजार सकारात्मक हुने कारक तìव के के छन्, अनि बजारलाई नकारात्मक प्रभाव पार्ने विषय के कस्ता छन् भन्ने विषयबारे चर्चा गरौँ । 

सकारात्मक हुने आधार

लामो समयदेखि बजार तल्लो बिन्दुमा नै रहेको छ । यस विषय नै बजारलाई माथि लान मद्दत गर्ने आधार हो । नेपाली सेयर बजारमा अझै पनि राम्रा प्रतिफल दिन सक्ने कम्पनीहरू निकै सस्तो मूल्यमा पाइन्छ । कोभिड–१९ पछि उकालो लागेको सेयर बजार ११०० को हाराहारीबाट ३२०० भन्दा माथि लागेर पुनः १८०० को बिन्दु नजिकबाट उठेर बल्ल २२०० को बिन्दु नजिक पुगेको छ । जब कि भारतीय बजारमा कोभिडपछि २७ हजारको हाराहारीबाट उठेको सेन्सेक्स हाल सर्वाधिक ७३ हजारको हाराहारीमा पुगेको छ । यसलाई हेर्दा भारतीय बजारमा अहिले लगानी गर्दा नाफा कमाउने सम्भावना कम र गुमाउने सम्भावना बढी छ तर नेपाली बजारमा कमाउने सम्भावना बढी छ भने गुमाउने सम्भावना कम छ । 

बढ्दो रेमिट्यान्स, घट्दो आयातका कारण ब्याजदर हरेक महिना घट्दो अवस्थामा छ । २० वटा बैङ्कले माघका लागि ल्याएको ब्याजदरमा व्यक्तिगत र संस्थागत दुवैमा कमी आएको छ, जसले आगामी दिनमा पनि बैङ्क ब्याजदरमा कमी आउने सम्भावना छ । यसले सेयर बजारलाई माथि उठाउन मद्दत पुग्ने निश्चित छ । ब्याजदर कम हुँदै जानु र लगानीको वातावरण नबन्नुको फाइदा सेयर बजारलाई हुन थालेको छ । 

सामान्य अवस्थामा एक अर्बको कारोबार हुन नै निकै गाह्रो पर्ने अवस्थाबाट दैनिक चार–पाँच अर्बको हाराहारीमा कारोबार हुनु र मङ्गलबार तथा बुधबार त आठ÷नौ अर्बको कारोबार हुनुले बजारमा सेयरको माग बढेको ठुला व्यक्तिगत र संस्थागत लगानी भित्रिएको सङ्केत हो । हालको २२०० बिन्दुको मूल्यमा खरिद गरेको सेयर लामो समयसम्म राखेर नाफा कमाउने वा केही नाफा गरेर बिव्रmी गर्ने ट्रेडरहरूले नै बजार केही माथि लाने अवस्थाको सिर्जना गर्ने निश्चित छ । 

ब्याजदर घटेको बेला बैङ्कमा पैसा राख्दा प्रतिफल निकै कम हुने भएकाले लगानीकर्ता सेयरमा लगानी गर्न आकर्षित हुन्छन् । ब्याजदर घट्नु भनेको सेयर बजारमा पैसा भित्रिनु हो । अझ अन्य क्षेत्रमा लगानीको सम्भावना न्यून हुनु भनेको सेयर बजार माथि जानका लागि थप ऊर्जा मिल्नु हो । 

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा छ खर्ब १३ अर्ब २५ करोड रुपियाँ विप्रेषण बढेर भित्रिनु, आयात घट्नु र ऋणको माग कम हुँदै जानुको कारण तरलता बढ्दै गएको छ । यसले आगामी दिनमा ब्याजदर घटाउन थप दबाब पर्ने देखिन्छ । तरलता बढेको भन्दै राष्ट्र बैङ्कले बजारबाट पैसा खिचिरहँदा समेत निक्षेप बढेर ५० खर्बबाट ६० खर्ब रुपियाँको हाराहारीमा पुगेको तथ्याङ्कले तरलता प्रशस्त भएको देखाएको छ, जसले कर्जाको ब्याजसमेत घट्ने निश्चित छ । यसले सेयर कर्जाको दरमा पनि कमी आउने आशा गर्न सकिन्छ । 

बैङ्कमा सेयर कर्जा माग प्रशस्त रहेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पुससम्ममा सेयर कर्जा ७६ अर्बबाट बढेर ८१ अर्ब रुपियाँ पुगेको तथ्याङ्कले देखिएको भए पनि कर्जाको माग प्रशस्त रहेकाले माघ महिनामा थुप्रै कर्जा प्रवाह हुने छन् । कतिपय बैङ्कमा सेयर कर्जाको लिमिट नै सकिएको बताइए पनि विगतको बुलमा सेयर कर्जा एक खर्ब पाँच अर्ब रुपियाँको हाराहारीमा पुगेको अनुमानले भने अबको बुलका लागि पनि सेयर कर्जा पुरानै अवस्थामा पुग्न पनि अझै २५ अर्बको हाराहारीमा बढनु पर्ने देखिन्छ, जुन पैसा सेयर बजारमा नै आउने हो । अझ यसपालिको बुलका लागि पुरानो कर्जाको लिमिट नाघ्ने आशा गर्न सकिन्छ, जसले बजारमा अझै सेयर कर्जाबापतको ठुलो रकम भित्रिन बाँकी नै रहेको देखिन्छ । त्यसै गरी बजार उकालो लाग्ने व्रmमसँगै विभिन्न क्षेत्रबाट सेयरमा छोटो समयका लागि लगानी गरेर कमाउनेको होडबाजी नै चल्ने गरेको पाइन्छ, जसको सुरुवात भइसकेको जस्तो देखिन्छ । त्यसैले आगामी दिनमा बजार थप उचाइमा पुग्न सक्छ । 

नकारात्मक हुने आधार 

सेयर बजार भनेको सम्भावना र खतरा दुवै बोकेको क्षेत्र हो । बजारमा सधैँ आम्दानी हुने होइन । वर्तमान सेयर बजारलाई नकारात्मक प्रभाव पार्न सक्ने विषयहरू पनि छन् । त्यस्ता विषयहरू हाबी हुने हो भने बजार तल जान सक्ने सम्भावना भने रहन्छ नै । आर्थिक वर्षको आधा समय व्यतीत हुँदा पनि सरकारले पुस मसान्तसम्म जम्मा कुल पुँजीगत बजेटको १६.३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ, जसले अर्थतन्त्र चलायमान बनाउन सकेको पाइँदैन । सरकारले पुँजीगत खर्च गर्न नसक्नाले आर्थिक गतिविधि सुस्त हुन्छ । यसले बजारमा नकारात्मक प्रभाव पार्न सक्छ ।  

सरकारको ध्यान पुँजीगत खर्च गर्नेमा भन्दा पनि राजस्व बढीभन्दा बढी उठाउनतर्फ गएको पाइन्छ, जसमा विद्युत्को पुरानो विद्युत् महसुल उठाउने, मर्जर र एक्विजिसनमा गएको कम्पनी र एफपिओ जारी हुँदाको नाफाबाट समेत कर तिर्नुपर्ने अवस्था जस्ता विषयले निजी क्षेत्रलाई सशङ्कित पारेको छ । कुन बेला सरकारले के निर्णय गर्ने हो त्यसको ठेगान छैन । सरकारको भूतप्रभावी कर नीतिले हाल निजी क्षेत्रमा समस्या निम्तिएको छ । सेयर बजार दिगो रूपमा माथि जानका लागि सरकारको आर्थिक निर्णयको स्थायित्व, सुशासन जस्ता विषय महìवपूर्ण हुन्छ । त्यसको बलियो प्रत्याभूति नहुँदासम्म बजार उच्च बिन्दुमा पुग्ने सम्भावना न्यून छ । 

अबको बजार

नेपाली सेयर बजारमा दैनिक कारोबार बढ्नु र नेप्सेमा बढोत्तरी भएपछि केही करेक्सनसहित अगाडि बढेकाले आगामी दिनमा माथि जान सक्छ । सन्तुलित ढङ्गबाट बढेको बजारले दिगो रूपमा माथि जाने आधार तयार गरिसकेको देखिन्छ तर सेयर बजारमा हचुवाको भरमा लगानी गर्नुभन्दा आगामी दिनमा बढेको बजारमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरूको चयन गर्ने विषय भने लगानीकर्ताको दक्षता, क्षमता र रोजाइमा भर पर्छ । 

Author

सरोज अधिकारी