दोलखा समाचारदाता
दोलखा, माघ ५ गते । दोलखाको भीमेश्वर नगरपालिका–६, झुले भन्ने स्थानमा करोडौँ लगानीमा निर्मित हिमालयन अनुसन्धान विज्ञान तथा प्रविधि प्रतिष्ठानको भवन बेवारिसे मात्र बनेन, निल्नु न ओकल्नु बनेको छ । गत दुई वर्षअघि सङ्घीय सरकारको एक करोड ५१ लाख छ हजार २५० रुपियाँमा निर्मित सो भवन उद्देश्य अनुरूप प्रयोगमा आउन नसकेपछि प्रयोगविहीन भई निल्नु न ओकेल्नु अवस्थामा पुगेको हो ।
बिनायोजना हचुवामै हतारहतारमा निर्माण उपभोक्ता समितिमार्फत भवन निर्माण भएको थियो । अहिले न भवन पूरा हुने न सञ्चालन हुने अनिश्चितता बनेको छ । भवनले मात्रै प्रतिष्ठान सञ्चालन हुन सक्दैन भन्नेसम्म पनि सोचिएन । बिनायोजना लहडबाजीमा बजेट ल्याइदिने र भनसुनमै स्थान तय भइदिँदा गौरवशाली ठानेर सुरु भएको भवन बन्दा यो अवस्था आएको हो । अर्को पटक बजेट नआउँदा भवन पूरा हुन सकेको छैन । अनुसन्धान विज्ञान तथा प्रविधि प्रतिष्ठानको परिकल्पना नै गरिएन ।
वडाध्यक्ष नवीन लामाले भन्नुभयो, “सङ्घबाट बजेट आयो, भवन निर्माण सुरु भएर दुईतलामै थन्किएको छ । तीनतला बनाउनुपर्ने हो । थप बजेट नआएपछि निर्माण पनि रोकिएको छ । कार्यविधि बनाएर सञ्चालन गर्नुपर्ने हो तर प्रव्रिmया जटिल बन्दै गएपछि सञ्चालन हुन सकेन । बनेको भवन पनि जीर्ण बन्दै गएको छ । भवन बनेको स्थानमा सरकारी १७ रोपनी जग्गा रहेको छ ।” यो लगानी कृषि तथा उद्योगमा लगाएको भए नगरवासी प्रत्यक्ष लाभान्वित हुन्थे होला, स्थानीय रामजीप्रसाद चौलागाईंले भन्नुभयो, अपायक र वनबिच बनाएको भवनले कसैलाई पनि फाइदा पुगेन, पुग्दैन । विचार नपुग्दा लगानी बालुवामा पानी हालेझै भयो । बजारमा भइदिएको भए पनि भाडामा लाग्न सक्थ्यो, त्यो पनि भएन । क्षणिक सोचाइले लगानी खेर गयो ।
मध्यमस्तरका जनशक्ति उत्पादन गर्ने थलो बनाउन खोजिएको हो । नगरका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख इन्जिनियर सुरेश राउतले भन्नुभयो, “भवन त बन्यो तर सञ्चालनका लागि बजेट, दक्ष जनशक्ति, स्वीकृतिलगायतका काममा विलम्ब हुन पुग्दा भवन प्रयोगविहीन बन्न पुगेको हो । भवन निर्माणको बजेटभन्दा अरू संरचना बन्न करोडौँ लगानी लाग्छ । न प्रदेश न सङ्घले चासो राखेको छ । यस्तै हो भने करोडौँ लगानी खेर जाने सङ्केत देखिएको छ ।”
निर्माण भएको भवनलाई प्रयोगमा ल्याउन सम्बन्धित निकाय (विश्वविद्यालय तथा सिटिइभिटी) को मापदण्ड अध्ययन गरी प्रस्तावना तयार गरेर सम्बन्धनका लागि आवश्यक प्रव्रिmया अगाडि बढाउनुपर्ने हो । आठकोठे दुईतले भवन बन्यो । बजेट अभावले अर्को तला बन्न सकेको छैन । राम्रो सुझबुझ नभई लहडबाजीको निर्णयले यो अवस्था आएको उहाँले बताउनुभयो । डिपिआर अनुसार भवन, आवाससहितको छात्रावास, पुस्तकालय, पार्क, घेराबारसमेतमा आठ करोड रुपियाँ लाग्ने देखिएको छ । नगर प्रमुख ईश्वरनारायण मानन्धरले भन्नुभयो, प्रदेश र सङ्घको बजेटले त प्रतिष्ठानका लागि आवश्यक संरचना बन्न र सञ्चालन हुन गारो परिरहेको समयमा नगरको बजेटले त बन्दै बन्दैन । दक्ष जनशक्ति, विद्यार्थी कसरी जुटाउने गारो छ । दीर्घकालीन सञ्चालन कसरी गर्ने भन्ने कुनै खाका छैन । बनेको भवनको त कुनै निस्सा छैन नगरसँग । निर्माण सम्पन्न भनिएको छ, हस्तान्तरण भएको पनि छैन ।