• १३ साउन २०८१, आइतबार

भलमनसा चयन सुरु हुँदै

blog

धनगढी समाचारदाता

धनगढी, माघ ४ गते । थारू समुदायमा भलमनसा चयनको कार्य सुरु भएको छ । गाउँको नेतृत्व गर्नका लागि भलमनसा छान्ने चलन रहेको छ । माघ पर्वको अन्तिम दिन यो समुदायमा भलमनसा÷बडघर चयनको कार्य थाल्ने गरिन्छ । यस कार्यलाई खोज्नीबोज्नी÷भुराखेल पनि भन्ने गरिन्छ । भलमनसा चयनको कार्य माघ पर्वको अन्तिम दिन गर्नु पर्छ भन्ने बाध्यकारी नियम भने छैन । आआफ्नो गाउँको समयानुकूल भलमनसा चयन गरिन्छ । 

विगतदेखि माघ पर्वको अन्तिम दिन भलमनसा चयन गर्दै आएका गाउँवासीले माघ महिनाको सुरुवातमै नेतृत्व चयन गरेको थारू कल्याणकारिणी सभा कैलालीका पूर्वकार्यवाहक सभापति माधव थारूले बताउनुभयो ।  भलमनसा थारू समुदायमा गाउँको नेतृत्व गर्ने मुख्य व्यक्ति हो । गाउँभरिका मान्छेको सहमतिको आधारमा सर्वसम्मतिले भलमनसा चयन गरिन्छ । भलमनसाको पदावधि एक माघ पर्वदेखि अर्को माघ पर्वसम्म एक वर्षको हुन्छ । 

भलमनसासहित गाउँको नेतृत्व गर्ने व्यक्तिले एक वर्षसम्म गरेको कामको खोज्नीबोज्नीमा समीक्षा हुने गर्द छ । राम्रो काम गरेकालाई पुनः दोहो¥याउन सक्ने अधिकार गाउँवासीमा रहने गर्द छ ।  काम चित्त नबुझेमा गाउँवासीमध्येबाटै अर्को व्यक्तिलाई भलमनसा चयन गरिन्छ । भलमनसा बन्ने मौका जान्ने बुझ्नेलाई मात्रै नभई गाउँका सबै व्यक्तिलाई रहने गर्द छ । कतिपय गाउँमा यो भूमिकामा महिला पनि रहँदै आएका छन् । 

आफ्नो गाउँले माघ पर्वको अन्तिम दिन खोज्नीबोज्नी गरेर भलमनसा चयन गर्दै आएको धनगढी उपमहानगरपालिका–५, जाँई गाउँका भलमनसा कुलवीर चौधरीले बताउनुभयो । उहाँले भलमनसा प्रथा थारू समुदायको लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्नुभयो ।  गाउँमा भलमनसासहित अघरिया (सहायक भलमनसा), सचिव, चौकीदार र लोहार चयन गर्ने गरिन्छ । अघरिया भलमनसाको सहायक हुन् । सचिवले गाउँको हरहिसाब राख्ने गर्दछन् । 

यसै गरी चौकिदारको भूमिका सन्देशवाहकको रूपमा रहेको हुन्छ । चौकिदारले गाउँको भेला, बैठक बोलाउनका लागि गाउँभरि सन्देश प्रवाह गर्ने गर्दछन् । गाउँमा फलाम कुट्न लोहार राख्ने चलन छ ।