• १३ साउन २०८१, आइतबार

संरक्षणको पर्खाइमा गर्भा दरबार

blog

बेवारिसे बनेको गर्भा दरबार । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ ३ गते । राणाकालीन गर्भा दरबार जीर्ण बनेको छ । कैलालीको चुरे गाउँपालिका –४ खैरालामा रहेको सो दरबार संरक्षण नहुँदा जीर्ण बनेको हो । 

संरक्षण अभावमा दरबार खण्डहरमा परिणत भएको छ । दरबारको विभिन्न संरचना भत्किन थालेको छ । राज्यले दरबार संरक्षणमा चासो नदिएपछि ऐतिहासिक महत्वको गर्भा दरबार जीर्ण बनेको स्थानीयवासी नारायण योगीले बताउनुभयो । 

गर्भा दरबार तत्कालीन राणा शासक खडक शमशेरको पालामा बनेको थियो । विक्रम संवत् १९७९ मा शिलान्यास गरिएको दरबारको निर्माण कार्य १९८३ मा पूरा भएको थियो । राणा शासकहरूले कैलाली, कञ्चनपुर, डोटीबाट पोत (कर) उठाउन र मुद्दा मामिला मिलाउने उद्देश्यले बनाएको दरबारमा २०३३ सालदेखि मान्छे बस्न छाडेको जनाइएको छ । १० वर्षे द्वन्द्वको चपेटामा परेर दरबार भग्नावशेषमा परिणत भएको बताइन्छ । 

दरबार संरक्षण वा मर्मतका लागि पुरातत्त्व विभागले अनुमति नदिएका कारण प्रदेश सरकारले पनि हात हाल्न नसकेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । उहाँका अनुसार एकसय वर्ष पुगेपछि मात्र पुरातत्त्व विभागले यस्तो दरबारलाई हेर्ने गर्दछ । दरबार शिलान्यास गरेको मितिलाई मान्ने हो भने १०१ वर्ष पुगिसकेको छ । तर निर्माण कार्य सम्पन्न भएको मितिलाई मानेमा दरबारको सय वर्ष पुग्न अझ बाँकी छ । 

“दरबार सम्पन्न भएको वा शिलान्यास भएको कुन मितिलाई आधार मान्ने भन्ने नै निश्चित छैन” अध्यक्ष बोगटीले भन्नुभयो, “त्यसकारण पुरातत्त्वले केही गरेको छैन । अनुमति नपाउँदा प्रदेश सरकारले हात हालेको छैन । गाउँपालिकाले गर्ने भन्ने त झन् कुरै भएन । हामीसँग त्यति धेरै स्रोत पनि छैन ।”

गाउँपालिका अध्यक्ष बोगटीका अनुसार दरबारका लागि प्रदेश सरकारले साढे २० करोडको डीपीआर पनि बनाएको छ । तर काम अगाडि बढाउन सकेको छैन । ८३ झ्याल र ५३ ढोकाको तीन तले गर्भा दरबारको संरक्षण वा पुनर्निर्माण भएमा यसले पर्यटक आकर्षण गर्ने स्थानीयको विश्वास छ । 

तराई क्षेत्र चौमाला बजारबाट २३ किलोमिटरको दूरीमा चुरे पहाडमा गर्भा दरबार रहेको छ । यो दरबारबाट केही दूरीमा समुद्री सतहबाट एक हजार ९६५ मिटर अग्लो चिरकिट्टे भनेर चिनिने चुरेको अग्लो डाँडा रहेको छ । जहाँबाट दक्षिणतिर भारतको सहर र उत्तरतिर हिमालहरूको समेत दृश्य देखिन्छ । गर्भा दरबार र चिरकिट्टे डाँडा भएकाले खैरालामा पर्यटन विकासको राम्रो सम्भावना छ ।