• १३ जेठ २०८१, आइतबार

ओझेलमा 'माँझकोट'

blog

अर्जुन काफ्ले

स्याङजा, माघ ३ गते । वालिङ नगरपालिका-३ मा रहेको पर्यटकीय सम्भावनाहरू प्रशस्तै भएपनि उजागर गर्न नसक्दा पछाडि परेका छन् । होमस्टेमार्फत पर्यटनको उजागर गर्न प्रयास भएपनि बुढाकोट राम्चे होमस्टे दर्ता भएर उचित रूपमा सञ्चालन हुन नसक्दा पर्यटन ओझेलमा परेको हो । 

समुद्री सतहदेखि एक हजार ७१५ मिटरको उचाइमा रहेको बुढाकोटमा भ्यूटावर पनि छ । सिद्धार्थ राजमार्ग रामबाच्छाबाट १२ किलोमिटर कच्ची ग्रामीण सडकबाट पुग्न सकिने माँझकोट जाँदै गर्दा बाटोमा देखिने हृमशृङ्खलाहरु, बिहानीपख ढपक्कै वालिङ बजारलाई कुहिरोले ढाकेको दृश्यले जोकोहिलाई पनि आकर्षित गर्ने गर्छ । 

यहाँको बुढाकोटबाट तनहुँ, पाल्पा, नवलपुर, नवलपरासी, चितवन, लमजुङ, गोरखा, कास्की, पर्वत लगायतका जिल्लाहरू देखिन्छ भने अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खलाहरू देख्न सकिन्छ । माँझकोटसँगै शृङ्गारकोट, बुढाकोट गाउँ छन् । 

वडा अध्यक्ष भीमबहादुर गुरुङले यहाँ एक कार्यक्रममा बुढापाका मात्रै भेला भएकाले त्यहाँको नामकरण बुढाकोट गरिएको भन्ने जनकथन रहेको बताउनुभयो । यस वार्डमा ३४२ घरमध्ये ३८ घरले बसाईसराई गरिसकेका छन् भने कुल जनसङ्ख्या दुई हजार ८७५ मध्येको ३० प्रतिशत मात्रै अहिले गाउँमा बस्दै आएका छन् भने बाँकी ७० प्रतिशत रोजगारी, अध्ययन, व्यवसाय लगायतको सिलसिलामा पोखरा, राम बाच्छा, बुटवल, काठमाडौँ बस्दै आएका छन् । 

९८ प्रतिशत गुरुङ समुदायको बस्ती रहेको यहाँ गुरुङ रीतिरिवाज, भेसभुसा पनि त्यहाँको थप आकर्षणको केन्द्रबिन्दु हो भने मुख्य बाली कोदो र मकै हो भने तल्लो भेगमा सुन्तलाखेति पनि हुँदै आएको छ । 

मेलिनियम ट्रयाक अन्तर्गत तनहुँको ढोरफेँदि, स्याङ्जाको पेल्काचौर, मनकामना हुँदै बुढाकोट पनि पर्ने भएकाले पर्यटनको थप सम्भावना रहेकाले पनि पर्यटनको लागी थप पूर्वाधार निर्माण गर्न नगरपालिका, प्रदेश र सङ्घीय सरकारसमक्ष अनुरोध गरिने वडा अध्यक्ष गुरुङले बताउनुभयो । 

आफ्नो बाँकी कार्यकालमा बुढाकोट होमिस्टेमा भौतिक पूर्वाधार निर्माण गरी पर्यटक बस्न मिल्ने बनाउने, हिउँदको समयमा पानीको समस्या देखिएकाले पानीको मुहानको उचित संरक्षण गरी पर्याप्तता पानीको व्यवस्थापन, कृषि उत्पादकत्वमा वृद्धि गर्ने गाउँमै बस्ने वातावरण सृजना गर्ने योजना रहेको वडा अध्यक्ष गुरुङले बताउनुभयो । 

स्याङ्जामा धेरै होमस्टेहरू रहेपनि माँझकोटमा फरकपना रहेको र होमस्टेलाई प्रवर्द्धन गर्न सकियो भने स्थानीयको आर्थिक अवस्था राम्रो हुने देखिन्छ ।