• २४ असार २०८१, सोमबार

चिकित्सकको आन्दोलनले बिरामी अलपत्र

blog

निशा राई 

धरान, माघ २ गते । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकहरूले अन्तर्वार्ता सुचारुको माग गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवाहरू बन्द गरेसँगै बिरामीहरू अलपत्र परेका छन् ।

बिपी प्रतिष्ठानमा उपचारका लागि पुगेका बिरामीहरू ओपिडीको टिकट काउन्टर नखुलेपछि बिरामीहरू अलपत्र परेका छन् भने फलोअपमा बोलाएको बिरामीहरू समेत अलपत्र परेका हुन् । बढुवा प्रक्रिया सुचारु गर्न गत कात्तिक २० गते धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलहरूको रोहवरमा पुस २ गते सुरु गरी १५ गतेसम्म आवश्यक प्रक्रिया पुरा गरेर लोक सेवा आयोग र स्वास्थ्य मन्त्रीको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता सकाउने सहमति भएको थियो । उक्त समय नाघिसक्दा समेत बढुवा प्रक्रिया सुचारु नभएपछि बिपी प्रतिष्ठान अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरू बन्दको आह्वान गरी चिकित्सक, शिक्षक र कर्मचारीहरू पुनः आन्दोलनमा होमिएका छन् । जसको असर उपचारमा आएका नयाँ तथा फलोअपमा रहेको बिरामीहरू तथा अध्ययनरत विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा असर परेको छ । 

अस्पतालमा टिकटको लागि बिहानैदेखि लाइन लागेपनि ओपिडीको काउण्टर नखुलेपछि बिरामीहरू निराश भएर घर फर्किन बाध्य छन् । तथापि केही टाढाबाट आएका बिरामीहरू भने खुल्ने आसमा बसिरहेका थिए । 

उपचारको लागि टाढाबाट आएकाले फर्किएर गइहाल्न पनि कता जानु ? का जानु ? भनी अलमल परेर बसेको पथ्रीबाट आउनुभएको बलभद्र मगरले बताउनुभयो । चेकअपको लागी डाक्टरले नै आज बोलाएकोले यस्तो चिसोमा मौसममा पनि बिहानै पथ्रीबाट आएको बिरामी मगरले बताउनुभयो । 

आफू मानसिक बिरामी रहेकोले चेकअपको समयमा जहिले पनि डाक्टरले अब रोगको अवस्था के, कस्तो छ ? के, कुन दुवै घटाउनुपर्ने हो वा डोज बढाउनुपर्ने हो ? बताउने गरेकाले महत्त्वपूर्ण रहेको उपचारमा आएका बिरामी मगरले बताउनुभयो । 

अब अन्य अस्पताल गएर उपचार गराउँदा समेत सुरु देखि पुनः उपचार गराउनुपर्ने जसले गर्दा पैसा, समय त खर्च हुन्छ नै रोग पनि त्यतिन्जेल बढेर जाने भएकोले झनै मानसिक तनावमा परेको उहाँको श्रीमतीले बताउनुभयो । यसरी आन्दोलनको नाममा बिरामीहरूलाई सास्ती दिनु गलत रहेको र आफूहरू अन्यायमा परेको बताउनुभयो ।

बिहान ८ बजे नै आएर लाइन बसेको तर ओपिडी काउण्टर नै खुलेन, चिकित्सकहरूको आन्दोलन हल्ला रहेछ पहिला नै थाहा भएको भए त्यति टाढाबाट जाडोमा श्रीमानलाई लिएर आउने नै थिइन उहाँले बताउनुभयो । उहाँ जस्तै बिहानै टाढाबाट आउनुभएको सयौँ बिरामीहरू शिक्षक, कर्मचारी र चिकित्सक आन्दोलनको कारण पीडित भएका छन् ।

बिपी अस्पताल जस्तो ठुलो अस्पताल जम्मा दैनिक हजारौँको सङ्ख्या बिरामीहरूको उपचार हुने ठाउँमा किन यस्तो भएको हो ? हामी आमनागरिकहरुलाई नै किन ? सधैँ दुःख दिएको हो ? भनी धरान ११ निवासी करुण राईले दुख व्यक्त गर्नुभयो । 

यसैगरी सिराहाबाट पेटको समस्या लिएर आउनुभएको विकास मण्डल अस्पताल खुल्ने आसमा आफू बसिरहेको बताउनुभयो । यहीँ उपचार गराउने भनेर आएकोले अन्य जाने खर्च पनि धेरै नभएको र उपचार नगरी घर पनि जान नसक्ने भएकोले हाल अस्पताल परिसरमै बसिरहेको बताउनुभयो । यसरी चिकित्सक आन्दोलनको नाममा बिरामीहरूलाई दुःख दिनु, सास्ती दिनु नाईन्साफी रहेको उहाँले बताउनुभयो । 

पटक–पटकको आन्दोलनले बिपी प्रतिष्ठान धराशायी बन्दै गएको छ । बिरामीहरू निराशा भएर घर फर्किन बाध्य हुनु दुःखद कुरा रहेको अधिवक्ता दीपक कुमार बुढाथोकीले बताउनुभयो । स्वास्थ्य जस्तो कुरामा बिपी प्रतिष्ठान, चिकित्सक र सम्बन्धित निकायहरूले गम्भीर रूपमा लिई अगाडी बढेर जान मनासिब रहेको उहाँले बताउनुभयो । 

आन्दोलनले उपचार सेवामा मात्र नभई विद्यार्थीहरूको पढाइमा समेत अवरुद्ध भइरहेको छ यसले गर्दा बिपी प्रतिष्ठान दिनानुदिन धराशायी बन्दै गएको छ । समयमै सम्बन्धित निकायले निष्कर्ष निकाल्न जरुरी रहेको अधिवक्ता बुढाथोकीले बताउनुभयो ।