• ६ जेठ २०८१, आइतबार

लोकदोहोरीको मौलिकता जोगाउन प्रतियोगिता

blog

बेनीमा सञ्चालित लोकदोहोरी गीत प्रतियोगितामा भाग लिएका कलाकार गीत गाउँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ २ गते ।
लोकदोहोरी गीतको मौलिकतालाई जोगाउन र प्रवर्द्धन गर्न बेनीमा जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिएको छ । दशौं माघे सङ्क्रान्ति मेलाको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताले लोकदोहोरी गीतको परम्परागत मौलिक संस्कृतिको जगेर्ना गरी लोकदोहोरीका नयाँ प्रतिभा जन्माउने विश्वास व्यक्त गरिएको छ । प्रतियोगितामा जिल्लाभित्रका दश समूहले भाग लिएका छन् । प्रतियोगितामा भाग लिने अधिकांश युवायुवती नै छन् ।

बेनीको खुल्ला मञ्चमा आयोजना गरिएको लोकदोहोरी प्रतियोगितामा कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउदा दर्शकहरुले रमाइलो मानेर नाचेका छन् ।

आधुनिकतासँगै युवा पुस्तामा लोकदोहोरीको महत्त्व घट्दै जानु र यसको मौलिकता नास हुँदै जान थालेकाले संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको मेला आयोजक महिला उद्यम विकास समिति म्याग्दीका अध्यक्ष अम्बिका श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जिल्ला भित्र रहेका लोकदोहोरीका नयाँ प्रतिभाहरुको खोजी, प्रतिभा प्रस्फुटन र मौलिकताको संरक्षण गर्न प्रतियोगिता आयोजना गरेका हौं ।’’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीले गरेको संयोजनामा जिल्लाभित्रका दश समूहले भाग लिएका छन् ।

लोकदोहोरी कुनै बेला घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाउने प्रचलन थियो । प्रतिष्ठान म्याग्दीका अध्यक्ष तथा कलाकार ध्रुव जिसीले भन्नुभयो, ‘‘आजकल पुरानो प्रचलन हराएको छ । नयाँ पुस्तामा लोकदोहोरीको मौलिकता छैन, हामीले मौलिकताको संरक्षण गर्न खोजेका छौ । मेला पर्वहरुमा आयोजना हुने लोकदोहोरी गीत प्रतियोगिताले मौलिकताको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउँछ ।’’ म्याग्दी लोकदोहोरीको उर्वर भूमि भएकाले नयाँ पुस्तालाई लोकदोहोरीमा आकर्षित गर्न प्रतियोगिताले टेवा पुग्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘कलाकारहरु जमघट हुने माध्यम मेला पर्वहरु बनेका छन् । लोकदोहोरीको पुरानो मौलिक संस्कृति त हराउँदै जान थालेको छ । नयाँ परिवेश अनुसार हामी यसको संरक्षणमा जुटेका छौं ।’’ मेला पर्वहरु स्थानीयस्तरमा लुकेर रहेका कलाकारलाई जमघट गराउने, नयाँ कलाकार उत्पादन गर्न र प्रतिभा प्रस्फुटन गराउने अवसर भएको उहाँको भनाइ छ ।

आधुनिकतासँगै लोकदोहोरीको मौलिक भाका लोप हुन थालेकाले लोकदोहोरीको मौलिकता जोगाउन र युवा पुस्तालाई आकर्षित गर्न आफूले प्रतियोगितामा भाग लिएको युवा कलाकार नारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ पहिलाको जस्तो रातको समय दोहोरी गाउँदा बिहान उज्यालो हुने जस्तो प्रचलन त छैन, तर विभिन्न समयमा आयोजना हुने मेला पर्वहरुमा भाग लिएर लोकदोहोरीको मौलिकता जोगाउन लागेका छौं ।’’

‘‘सानो उमेर देखि नै लोकदोहोरी मलाई मन पर्दथ्यो । स्कुल,क्याम्पस पढ्दा लोकदोहोरी गीत प्रतियोगितामा भाग लिने गरेको थिएँ,’’ प्रतियोगितामा भाग लिनुभएका युवा कलाकार मिलन कार्कीले भन्नुभयो, ‘‘हाम्रो समाजको पुरानो लोकसङ्गीतलाई हामी युवाहरुले संरक्षण गर्नुपर्दछ । लोकदोहोरीलाई व्यावसायिक पेसा नबनाए पनि संरक्षण गर्नका लागि प्रतियोगिताहरुमा भाग लिने गरेको छु ।’’ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् ।