• १३ साउन २०८१, आइतबार

होमस्टे (घरबास) बनाउदै खजुरा गाउँपालिका

blog

होमस्टे निर्माण गरिने मुक्त कमैया बस्ती नजिक रहेको घिया क्रान्तिपुर ताल । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, माघ २ गते । बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा होमस्टे (घरबास) सहित पर्यटकीय स्थल बनाउने भएको छ । गाउँपालिकाको लगानीमा वडा ८ स्थित घियागाउँको मुक्त कमैया बस्तीमा होमस्टे बनाइने भएको हो ।

किसान आन्दोलन, जनयुद्ध र २०६२–६३ को जनआन्दोलनमा अग्रणी भूमिका खेलेको घिया गाउँलाई पर्यटकीयस्थल बनाउन भन्दै पालिकाले यस वर्ष पूर्वाधार विकास तथा डीपीआर निर्माण गर्न २५ लाख बजेट बिनियोजन गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादु विक (तुफान) ले जानकारी दिनुभयो । 

पूर्वाधार विकास अन्तर्गत माघ १ गतेलाई लक्षित गर्दै सो गाउँमा माघी मेला समेत आयोजना गरिएको छ । अध्यक्ष विकले ऐतिहासिक घिया क्रान्तिपुर तालको संरक्षण गर्ने र ताल पर्यटनको विकास गर्दै मुक्त कमैया बस्तीमा होमस्टेको निर्माण गरिने जानकारी दिनुभयो । 

उहाँले देशविदेशका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण प्रदान गर्नेगरी १६ विघा जग्गामा ताल निर्माण गरी त्यस वरिपरि मुक्त कमैयाहरुले आफै सञ्चालन गर्ने गरी होमस्टे बनाइने बताउनुभयो । यस वर्षमा स्थानीय अगुवाहरुलाई देशका उत्कृष्ट होमस्टेको भ्रमण गराइने तथा पर्यटनसम्बन्धी तालिम प्रदान गरिने पालिकाको योजना रहेको उहाँले बताउनुभयो ।

बैजनाथ र खजुरा गाउँपालिकाको सिमानामा पर्ने घियातालको विकास र संरक्षण गर्न अन्तरपालिका समन्वय गरिने अध्यक्ष विकले बताउनुभयो । आज आयोजित माघी मेलामा थारु समुदायका स्थानीय कलाकारले थारु संस्कृतिमा आधारित कार्यक्रम प्रस्तुत गरेका थिए ।

परम्परादेखि साबिक रनियापुर र हाल खजुरा गाउँपालिकाको ७ र ८ नम्बर वडामा सिँचाइ गर्न पुग्ने १६ बिघा क्षेत्रफलको प्राकृतिक ताल हाल अतिक्रमणको चपेटामा परेको छ । थारु समुदायको बाहुल्य रहेको घिया र मुस्लिम बाहुल्य रहेको रनियापुरलाई पर्यटनको केन्द्र बनाउन पालिकाले यसै वर्षदेखि बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।