• १८ असार २०८१, मङ्गलबार

पालिका बिदा व्यवस्थित गरिँदै

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, माघ २ गते । कैलालीका स्थानीय पालिकामा लगातार छ दिन बिदा परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्व र स्थानीय सरकारले दुई दिन माघी पर्वको बिदा दिएकाले यति लामो बिदा परेको हो । पुस २७ मा राष्ट्रिय एकता दिवस, माघ १ गते  माघेसङ्क्रान्ति र एउटा शनिबार परेको छ । जब कि यस वर्ष दसैँ र तिहारमा पनि पाँच पाँच दिन मात्रै सार्वजनिक बिदा थियो । 

सुदूरपश्चिमका केही पहाडी जिल्लामा मनाइने भुवा पर्वलाई प्रदेश सरकारले प्रदेशभरि र थारूबहुल क्षेत्रका पालिकाले  माघेसङ्क्रान्तिको एक दिनअघि र एक दिनपछि स्थानीय बिदा दिएका छन् । माघ १ गते थारू समुदायको सबैभन्दा ठुलो पर्व र नयाँ वर्ष माघ पर्छ । पुसको अन्तिम दिन थारू समुदायले जिता (बङ्गुर, सुँगुर) मारेर माघी सुरु गर्छन् भने माघ १ गते तिहार मानिन्छ । 

माघ २ गते छोरीबहिनीलाई अग्रासन पु-याउने चलन छ । यस अवधिमा नयाँ वर्षका लागि गाउँको भलमनसा छान्ने, नयाँ कामको सुरु गर्ने, घर फाट्ने (अंशबन्डा गर्ने) लगायतका काम गर्छन् भने अन्य समुदायमा माघ महिनालाई पवित्र महिनाका रूपमा मनाउने चलन छ । सेल रोटीका परिकार बनाउने, छोरी, बहिनी, भान्जीको घरमै पुगेर चेली तिहार पु-याउने चलन छ । आर्थिक र सामाजिक रूपमा पछि परेको सुदूरपश्चिम प्रदेश सांस्कृतिक रूपमा भने भरिपूर्ण छ । 

कैलाली–कञ्चनपुरमा बिदै बिदा

आर्थिक वर्ष २०८०/८१ पहिलो छ महिनामा सुदूरपश्चिममा २६ वटा शनिबार र २९ दिन पर्व र स्थानीय गरी ५५ दिन बिदा परेको छ । डोटेली, थारू, रानाथारू, खस संस्कृतिका मानिसको मिश्रित बसोबास छ । पूर्वबाट बसाइँ सरेका थारू, पहाडबाट बसाइँ सरेका डोटेली र खस संस्कृतिका मानिससँगै संस्कृति पनि सर्दै आएका छन् । 

पर्व बिदाले केही नागरिक खुसी भए पनि कामकाजीसेवाबाट वञ्चित भएका छन् । जानकी गाउँपालिकाले दिएको बिदालाई आधार मान्दा साउन २ गते मुक्त कमैया दिवस र चार शनिबार गरी ५ दिन बिदा परेको छ । भदौमा १२ दिन बिदा परेको छ । भदौ १ गते ओल्के पर्व, ४ गते गुरही नागपञ्चमी, ७ र ८ गते गौरा पर्व, १४ गते रक्षाबन्धन, २८ गते शोक बिदा र ३१ गते अटवारी बिदा परेको छ भने पाँचवटा  शनिबार परेका छन् । 

असोज ३ गते संविधान दिवस, २८ गते घटस्थापना र ४ शनिबार गरी ६ दिन बिदा परेको छ । असोज १ गते तिजमा महिला बिदा थियो । कात्तिकमा दसैँका पाँच दिन, तिहारका पाँच दिन र चार वटा शनिबार गरी १४ दिन बिदा परेको छ । मङ्सिरमा ३ गते छठ, १७ गते शोक बिदा र पाँच वटा शनिबार गरी सात दिन बिदा परेको छ । अर्धवार्षिक प्रगति देखिनुपर्ने पुस महिनाका २९ दिनमध्ये १० दिन बिदा परेको छ । व्रिmसमस, तमु ल्होसार, भुवा पर्व, राष्ट्रिय एकता दिवस, माघी पर्व गरी छ दिन र चार शनिबार गरेर १० दिन बिदा परेको हो ।

बिदामा पनि काम

प्रदेश सरकारले भुवा पर्वको दिन बिदा दिए पनि कैलालीको जानकी र टीकापुर नगरपालिकाका केही कर्मचारी कार्यालयमा काम गरिरहेका भेटिएका छन् ।

 जानकी गाउँपालिका प्रशासन शाखाका प्रमुख मेवालाल चौधरीसहितका सात कर्मचारी पुस २८ गते पालिकाले आयोजना गरेको माघीमिलन कार्यव्रmमको तयारीमा व्यवस्त थिए । 

चौधरी भन्नुहुन्छ, “पालिकाको कार्यक्रम नपरेको शनिबारबाहेक बिदामा घर बस्न पाइँदैन । पालिकाले ठुला कार्यव्रmम पनि शनिबार राख्ने भएकाले नियमित काम भइरहन्छ ।” यस्तै टीकापुर नगरपालिकाका प्राविधिक दिनेश बोगटी कार्यालय खुलेका दिनले मात्रै काम नसकिने भएकाले स्टिमेट गर्नेलगायतका काम गर्न बिदाको दिन सजिलो हुने बताउनुहुन्छ । 

टीकापुर नगरपालिकाको राजस्व शाखाका प्रमुख नन्दबहादुर केसी आफू भर्खरै शाखामा सरुवा भएर आएकाले ऐन कानुन र शाखाको अवस्था अध्ययन गर्न बिदाका दिन पनि कार्यालय आइरहेको बताउनुहुन्छ । बिदाका दिन टीकापुर नगरपालिकाका अन्य कर्मचारी पनि काम गरिरहेका अवस्थामा भेटिने गरेका छन् ।