• ६ जेठ २०८१, आइतबार

दुई विधेयक पारित गर्दै सकियो रेसुङ्गाको नगर सभा

blog

नगरपालिकाको १४ औँ नगर सभामा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थी मन्तव्य राख्नुहुँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, माघ १ गते । दुई विधेयक सर्वसम्मत पारित गर्दै गुल्मीको रेसुङ्गा नगरपालिकाको नगर सभा सकिएको छ । यस नगरपालिकाको १४ औँ नगर सभामा विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेयले दुई विधेयक १४ औँ नगर सभामा प्रस्तुत गर्नुभयो ।

संयोजक पाण्डेयले रेसुङ्गा नगरपालिकाको संस्था दर्ता विधेयक–२०८० र रेसुङ्गा नगरपालिकाको जनस्वास्थ्य विधेयक–२०८० नगर सभामा पेस गर्नुभयो । उहाँले सभामा पेस गर्नुभएका दुईवटा विधेयकहरू सर्वसम्मत पारित भए । त्यस अवसरमा नगर सभाका अध्यक्ष एवम् रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले चालू आर्थिक वर्ष २०८०/०८१ अर्धवार्षिक प्रगतिको बारेमा जानकारी गराउनुभयो ।

उहाँले छ महिनामा यस नगरपालिकाको २५.५ प्रतिशत वित्तीय प्रगति भएको बताउनुभयो । जसमा चालूतर्फ २५ प्रतिशत र पुँजिगतर्फ २६ प्रतिशत प्रगति भएको छ । हालसम्म आन्तरिक राजश्व ७२ लाख ७९ हजार रुपियाँ सङ्कलन भएको भन्दै उहाँले ४० प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो ।

सार्वजनिक सेवा प्रवाहलाई चुस्त–दुरुस्त पारिएको उल्लेख गर्दै सदरमुकाम तम्घासको सडक रि–पिच, जिल्लालाई हवाई यातायातसँग जोडिएको र हालैमात्र गुल्मी अस्पतालमा मिर्गौलाको डायलिसिस सेवा सञ्चालनसहित दर्जनौँ विकाससँग सम्बन्धित नगरपालिकाभित्र भएका र आफ्नो पहलमा हालसम्मका विकास निर्माणको बारेमा जानकारी गराउनुभयो ।

त्यस्तै, नगरपालिकाले सुरु गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानअन्तर्गत गत साउन महिनादेखि हालसम्म ३० हजार पर्यटकले रेसुङ्गा भ्रमण गरिसक्नुभएको उल्लेख गर्दै उहाँले आर्थिक वर्षको अन्त्यसम्म एक लाख पर्यटक रेसुङ्गामा पुर्‍याउने लक्ष्य लिएको बताउनुभयो ।

आगामी दिनमा गरिने कार्यहरूको बारेमा बताउँदै उहाँले रेसुङ्गा नगरपालिकाले सधैँ नागरिकको पक्षमा रहेर काम गर्दै आएको उल्लेख गर्नुभयो । छिमेकी मुलुक भारत र दक्षिण कोरियाको भ्रमण गरेको भन्दै दुवै भ्रमण फलदायी भएको प्रमुख पन्थीले बताउनुभयो ।