• २ असार २०८१, आइतबार

हिउँदे बालीका लागि ६५ क्विन्टल आलु गुल्मी ल्याइयो

blog

रमेश विश्वकर्मा

गुल्मी, पुस २९ गते । बीउ प्रयोजनका लागि रेसुङ्गा नगरपालिकाले आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत हिउँदे बालीका लागि ६५ क्विन्टल जनकदेव जातको आलु गुल्मी ल्याइएको छ।

५० प्रतिशत अनुदानमा रेसुङ्गा नगरपालिकाले ४, ९ र ११ का कृषकलाई वितरण गरिनेमध्ये वडा नम्बर९९ का लागि वर्षे आलुपछि ल्याउने गरी अहिले २ वडाका लागि हिउँदे आलु ६५ क्विन्टल ल्याइएको हो ।

आलुको बीउ कृषकलाई हस्तान्तरण गर्नुहुँदै नगरप्रमुख खिलध्वज पन्थीले जबसम्म कृषकहरू उत्पादनबाट आत्मनिर्भर बन्न सक्दैनन् तबसम्म समुन्नत नगरको कल्पना समेत गर्न नसकिने बताउनुभयो । उहाँले उत्पादनशील अनुदानका कार्यक्रमहरू नगरपालिकाले अगाडी सारेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले पनौतीको जनकदेव आलुको बीउ सबैभन्दा धेरै फल्ने, गत वर्ष एक क्विन्टलबाट १७ क्विन्टलसम्म कृषकले आलु उत्पादन गरेको  बताउनुभयो । गत वर्ष कृषि ज्ञान केन्द्र गुल्मीले यही जातको आलुको बीउ गुल्मीमा ल्याएको थियो ।

रेसुङ्गा नगरपालिका वडा नम्बर९४ अर्खलेका कृषक कृष्ण पाण्डेले एक क्विन्टल लगेर लगाउनुभएको थियो । उहाँले १२ क्विन्टलभन्दा बढी उत्पादन गरेको बताउनुभयो । लामो समय राखेपनि नकुहिने र स्वादिलो पनि भएको भन्दै यसको बजार खोज्न टाढा जान नपर्ने उहाँले बताउनुभयो ।

अर्खलेस्थित कृषि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले गत वर्ष कृषि ज्ञान केन्द्र गुल्मीले पनौतीबाट लिएको यही जातको रोपिएको आलु स्थानीय आलुभन्दा बढी उत्पादन भएको बताउनुभयो । अन्य जातको आलुभन्दा यो निकै स्वादिलो पनि भएको हुँदा आफूहरू यही बीउ लगाउन आकर्षित भएको उल्लेख गर्नुभयो ।

गुल्मीको आलुले बुटवल र काठमाडौँ सम्मको बजार पाएको छ । जिल्लाको मालिका गाउँपालिकाको रैथाने आलुले ब्राण्डिङ्ग र प्याकेजिङ्ग सहित गत वर्षदेखि बजार पनि पाएको बताइएको छ ।