• १९ असार २०८१, बुधबार

थारु समुदायमा माघीको रौनक

blog

माघीको अवसरमा बाँकेको राप्तीसोनारी-५ मा नृत्य गर्दै थारु समुदायका महिलाहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस २८ गते । बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा माघीको रौनक छाएको छ । यतिबेला थारु गाउँबस्ती माघीमय बनेको छ । 

माघी पर्व आउनुभन्दा एकसाता अघिबाटै गाउँघरमा माघी पर्वको रमझम सुरु भइसकेको बाँकेको राप्तीसोनारी गाउँपालिका ७ का वडा अध्यक्ष राम लखन थारुले बताउनुभयो । उहाँका अनुसार माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रूपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारु समुदायले बरका तेउहार (ठुलो पर्व) का रूपमा मनाउँछन् ।

थारु संस्कृति झल्कने नृत्यले अहिलेबाटै गाउँघर गुञ्जायमान भइरहेको जनाउँदै बाँके कोहलपुर मैटहवा निवासी अर्का थारु अगुवा दिपेन्द्र चौधरीले थारु बस्तीमा युवायुवती मघौटा, सखिया र हुरदङ्गा नाच नाच्न व्यस्त रहेको बताउनुभयो । चौधरीका अनुसार दसैँ तिहारमा घर नआएका व्यक्ति पनि माघीमा घर फर्किएकाले माघीको बेग्लै रौनक छाएको छ । ठाउँ ठाउँमा माघी मिलन र शुभकामना आदान प्रदान भइरहेका छन् । 

थारु अगुवाहरूका अनुसार थारुहरूले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजना अनुसार नै परिवारका सदस्यहरू सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ ।

बाँके टिटिहिरियाका अर्का थारु अगुवा शङ्करसिंह थारुले यतिबेला थारु बस्तीका चोकचोकमा युवाहरूको जमघट बढेको जनाउँदै बाहिरबाट आएकाहरू आफ्ना साथीभाइसँग अनुभव साटासाट गर्नमा व्यस्त रहेकोले जताततै पर्वको माहौल देखिएको बताउनुभयो । 

थारु समुदायमा माघे सङ्क्रान्तिको अघिल्लो दिन रातभर जाग्राम बसेर भजनकीर्तन गर्ने चलन छ । माघीका दिन बिहानै नजिकैको खोला नदीमा गई नुहाउने गरिन्छ । यस दिन खोला नदीमा गई नुहाउँदा वर्षभरिको पाप पखालिने जनविश्वास छ । नुहाइवरी आफूभन्दा ठुला मान्यजनलाई सेवा ढोक गरी आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

यो पर्वमा थारु जातिले विशेष परिकारका रूपमा ढिकरी (चामलको पीठोबाट बनाइने परिकार), माछा, घोघी, सुँगुर वा बङ्गुरको मासु र जाँड खाने तथा खुवाउने चलन छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर (गाउँको अगुवा), चौकीदार र गुरुबा चयन गर्ने गरिन्छ ।

माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् ।