तिलाचन पाण्डे
तम्घास, पुस २८ गते । नेपाल कम्युनिष्ट पार्टी एमाले गुल्मीले २०८० लाई प्रशिक्षण वर्षका रूपमा घोषण गरेको छ । पार्टीको वार्षिक कार्ययोजना अनुसार जिल्ला, सबैपालिका र सम्पर्क मञ्चमा गरिएका प्रशिक्षण प्रभावकारी रहेको ठहर गर्दै माघ र फागुनमा वडा स्तरका प्रशिक्षण सम्पन्न गर्ने र यस वर्षलाई प्रशिक्षण वर्षका रूपमा घोषण गरिएको जिल्ला सचिव गणेश श्रीपालीले जानकारी दिनुभयो ।
प्रशिक्षणको लागि विषयवस्तु पार्टीको स्कुल विभागको संयोजनमा निर्धारण गरी पठाउने र प्रशिक्षणका लागि प्रदेश तथा केन्द्रीय जिम्मेवारीमा रहेका व्यक्तिहरूलाई अनुरोध गर्ने निर्णय भएको उहाँले बताउनुभयो । यसका साथै जनसङ्गठनका पालिकासम्मका प्रशिक्षण फागुनभित्र सञ्चालन गर्ने र वडा तथा जनसङ्गठनका प्रशिक्षण फागुनभित्र सकेर यो वर्ष २०८० लाई प्रशिक्षण वर्षका रूपमा घोषित गर्ने गरी जिल्ला पार्टीले निर्णय गरेको श्रीपालीले बताउनुभयो ।
जिल्ला पार्टीका विभागहरूको बैठक फागुन १५ भित्र सम्पन्न गर्ने, यस वर्ष पार्टी सदस्यता नवीकरण चैत महिनाभित्र सक्नेगरी तयारी गर्ने र फागुनबाटै सदस्यता नवीकरणको काम सुरु गर्ने समेत निर्णय गरिएको छ ।
स्थानीय तहमा भएका अनियमितताको बारेमा उजागर गर्ने
यस्तै, एमाले गुल्मीले स्थानीय तहमा भएका अनियमितताको बारेमा उजागर गर्ने भएको छ । एमालेबाहेक फरक दलले जितेका स्थानीय तहमा भएका अनियमितता, भ्रष्टाचार, पक्षपातलाई उजागरका साथै विरोध पत्र प्रस्तुत गर्ने निर्णय गरेको हो । आफ्ना पार्टीले जितेका स्थानीय तहमा असल अभ्यासलाई निरन्तरता दिन र जनताको समस्यालाई समाधान गर्न सुझाव पत्र पेस गर्ने निर्णय गरेको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले बताउनुभयो ।
गुल्मी जिल्लाका स्थानीय तह तथा सरकारी कार्यालयमा कामकारबाहीका सम्बन्धमा एमाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको र विकास निर्माणका काममा गरिएको ढिलासुस्ती, र कमजोर गुणस्तर सच्चाउनका लागि आग्रह गर्ने श्रीपालीले बताउनुभयो । सरकारी निकायमा बढ्दो इन्धन, गाडी, चन्दा सहयोग तथा भ्रमण गोष्ठीका फजुल खर्च नियन्त्रण गर्न तथा सरकारी निकायमा बढ्दो खरिदमा हुने खेललाई सच्चाउन एमाले गुल्मीले आग्रह गर्ने भएको हो ।
गुल्मीमा एमालेले तीन वटा, माओवादीले चार र कांग्रेसले पाँच स्थानीय तहमा नेतृत्व गरेको छ ।