• १३ असोज २०८१, आइतबार

जाजरकाेटका भूकम्पपीडित महिलाका लागि डा. राणा देउवाबाट राहत सामग्री हस्तान्तरण

blog

राहत सामग्री तरुण दलका अध्यक्ष गुरुङलाई हस्तान्तरण गर्दै डा. राणा देउवा । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस २८ गते । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले जाजरकोटका भूकम्प पीडित सुत्केरी, गर्भवती र सीमान्तकृत महिलाका लागि राहत सामग्री हस्तान्तरण गर्नुभएको छ ।

नेपालगन्जमा आयोजना गरिएको एक कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री एवम् सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. राणा देउवाले तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङलाई जाजरकोटमा वितरण गर्नका लागि राहत हस्तान्तरण गर्नुभएको हो । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) काठमाडौँले जाजरकोटका भूकम्पपीडित सुत्केरी गर्भवती र सीमान्तकृत महिलाका लागि सो राहत सामग्री सङ्कलन गरेको हो । 

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) का संस्थापक अध्यक्ष समेत रहनुभएकी डा. राणा देउवाले सामग्री हस्तान्तरण गर्दै जाजरकोटका सुत्केरी र गर्भवती महिलाहरूको अवस्था दयनीय रहेको जानकारी तरुण दलमार्फत् आएपछि विभिन्न संस्थाहरूको सहयोगमा यो राहत सङ्कलन गरिएको बताउनुभयो । उहाँले यो राहत सामग्रीलाई अति नै पीडित अवस्थाका महिलाहरूलाई कुनै भेदभाव नगरी पुर्‍याउन तरुण दललाई आग्रह समेत गर्नुभयो । डा. राणा देउवाले भन्नुभयो, ‘देशमा कुनै पनि सङ्कट परेको बेला काम आउने गरी तरुण दलको गठन गरिएको थियो । यो सङ्गठनले आफ्नो उद्देश्य अनुसार काम गरिरहेको छ ।’

राहत सामग्री बुझ्दै तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले तरुण दलले जाजरकोटको सबैभन्दा बढी क्षति भएको क्षेत्रमा गएर अस्थायी टहरा बनाउने लगायत अन्य काम गरिसकेको जनाउँदै त्यहाँका महिला र बालबालिकाको अवस्था हेरेर नै डा. राणासँग राहतका लागि आग्रह गरिएको बताउनुभयो । उहाँले यो राहतलाई शुक्रबार नै जाजरकोटतर्फ पठाउने र त्यहाँ गएर बिना कुनै भेदभाव आवश्यक परेकालाई वितरण गरिने बताउनुभयो । 

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) काठमाडौँले प्रदान गरेको राहत सामग्रीमा एक हजार जना महिलालाई पुग्ने गरी पौष्टिक तथा पोषिलो आहारसहितको डिगनिटि किट छ । 

१८ प्रकारका सामग्री रहेको किट ५०० जनालाई पुग्ने र १५ प्रकारका सामग्री भएको किट ५०० जना महिलालाई पुग्ने जनाएको छ । सो राहतमा सहयोग गर्ने संस्थाहरूमा सुरक्षित मातृत्व सञ्जाल काठमाडौँ, माननीय डा. आरजु राणा देउवाको सचिवालय, पपुलेसन कनेक्सन अमेरिका, नेपाल स्वास्थ्य तथा फुड इन्डस्ट्री प्रालि मोरङ र हिमालय रि इन्स्योरेन्स प्रालि काठमाडौँ रहेको ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले जनाएको छ । 

राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, लुम्बिनी प्रदेशका यातायात मन्त्री रोज राणा, नेपाल स्वास्थ्य तथा फुड इन्डस्ट्री प्रालि मोरङका प्रतिनिधि ओजेश अग्रवाल, प्रदेशसभा सदस्यहरू बादशाह कुर्मी, माया गुरुङ र मिना सिद्धिकी लगायतको उपस्थिति थियो ।