• २ पुस २०८१, मङ्गलबार

विकट पालिकामा गएर योजना सम्झौता

blog

बनेपा समाचारदाता 

बनेपा, पुस २८ गते । काभ्रेपलाञ्चोक जिल्लाको विकट गाउँपालिकाका रूपमा रहेका महाभारत र खानीखोला गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न कार्यक्रमको सम्बन्धित पालिकामा नै गएर योजना सम्झौता गरिएको छ । सार्वजनिक निर्माण कार्यान्वयन एकाइले चालु आवमा महाभारत र खानीखोलामा सञ्चालन हुने योजनालाई सम्बन्धित पालिकामा नै गएर योजना सम्झौता गरेको हो । 

एकाइ प्रमुख बद्रीबहादुर पाठकले महाभारत र खानीखोलाबाट जिल्लास्थित कार्यालयमा आएर योजना सम्झौता गर्दा उपभोक्ताको रकम धेरै खर्च हुने भएकाले कार्यालयले सम्बन्धित पालिकामै गएर योजना सम्झौता गरेको बताउनुभयो । “उपभोक्ता समिति जिल्लामा योजना सम्झौता गर्न आउँदा सोही योजनाको बजेट नै खर्च हुन सक्ने हुँदा योजनाको लागत बढ्ने तथा स्थानीयस्तरमा जाँदा त्यहाँको समस्यासमेत बुझेर काम गर्न सकिने भएकाले नागरिकको सहजताका लागि हामीले योजना सम्बन्धित पालिकामा नै गएर सम्झौता गरेका हौँ,” एकाइ प्रमुख पाठकले भन्नुभयो । उहाँले योजना सम्झौता गर्ने व्रmममा योजनाका बारेमा शिक्षा विकास तथा समन्वय एकाइको प्रतिनिधि, जनप्रतिनिधि र सामाजिक विकास समितिको कर्मचारी राखेर योजनाका बारेमा विस्तृत जानकारीसमेत दिइएको बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोकको विकट महाभारत र खानीखोलामा सम्बन्धित स्थानीय तह र जिल्लाका अन्य तहका योजना भने कार्यालयमै सम्झौता गरिएको बताउनुभयो । उहाँले चालु आवमा महाभारत गाउँपालिकामा एउटा दुईकोठे विद्यालय भवन, तीन वटा विद्यालय घेरबार, एउटा महिला भवन निर्माणको सम्झौता गरिएको बताउनुभयो । 

उहाँले एकाइको कार्यक्षेत्र रहेका सिन्धुपाल्चोक, भक्तपुर, दोलखा, रामेछाप र सिन्धुली जिल्लामा चालु आवमा सञ्चालन हुने योजना सम्बन्धित जिल्लाको सबैलाई पायक पर्ने स्थानमा बोलाएर योजना सम्झौता गरिएको बताउनुभयो । सार्वजनिक निर्माण कार्यान्वयन एकाइमार्फत चालु आवमा छ वटा जिल्लामा विद्यालय घेरबारका १०३, दुईकोठे शौचालय १५ वटा, दुईकोठे विद्यालय भवन ३५ वटा, स्वच्छ खानेपानी ११ विद्यालय, १३ वटा विद्यालयमा भौतिक निर्माण मर्मत, सामुदायिक भवन छ वटा, विद्यालयमा आवासीय भवन दुई र पुँजीगत कार्यक्रम अन्तर्गत विभिन्न ११ गरी कुल १९६ योजनाको काम हुने जनाएको छ । 

यसैबिच काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखामा कार्यक्षेत्र रहेको सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकले काभ्रेपलाञ्चोकसम्म आएर योजना सम्झौता गर्दा लागत बढ्ने तथा नागरिकलाई सास्ती हुने भन्दै सम्बन्धित जिल्लामै योजना सम्झौताको काम गरेको जनाएको छ । कार्यालयका प्रमुख ई. सन्तोष निरौलाले सिन्धुपाल्चोक र दोलखामा चालु आवमा सञ्चालन हुने योजना सम्बन्धित जिल्लामै सम्पर्क कार्यालय राखेर योजनाको सम्झौतालगायतको काम गरिएको बताउनुभयो । उहाँले कार्यालयमार्फत सञ्चालन हुने योजनाका बारेमा सम्बन्धित योजनाका पदाधिकारीलाई जानकारी दिने कामसमेत गरिएको बताउनुभयो ।