काठमाडौँ, पुस २७ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले एकै प्रकृतिका भद्रगोल अवस्थामा रहेका खेल सङ्घलाई एकै ठाउँमा ल्याउने प्रक्रिया जारी रहेको बताउनुभएको छ ।
सदस्य सचिव घिसिङले शुक्रबार चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिताको उद्घाटनका अवसरमा सो धारणा राख्नुभएको हो । विकसित राष्ट्रको भन्दा पनि बढी खेलकुद सङ्घ अव्यवस्थित रुपमा रहँदै आएपनि अहिले त्यसलाई व्यवस्थित गर्ने प्रयास रहेको उहाँको भनाइ छ ।
संविधान र नयाँ खेलकुद ऐनद्वारा निर्देशित काम कामकारबाही अगाडि बढिरहेको घिसिङले बताउनुभयो । उहाँले पहिलोपटक नेपालमा खेलकुद बीमालेख जारी भएको पनि जानकारी गराउनुभयो ।नेपाल वादोरियो कराते डो सङ्घको आयोजनामा सो प्रतियोेगिता आगामी पुस २७ र २८ गते हुँदैछ ।
प्रतियोगितामा पुरुष तथा महिलातर्फ समान ६ विधामा प्रतिस्पर्धा हुनेछन् । सदस्य सचिव घिसिङले अब प्रतियोगिताको मुखमा गएर खेलाडीको तयारी गराउने परम्पराको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैले अब हुने एसियाली खेलकुदको तयारी छिट्टै गरिने र त्यसको शुरुवात कराँतेबाट हुने सदस्य सचिव घिसिङको भनाइ छ ।
प्रतियोगिताको उद्घाटनका अवसरमा आयोजक संस्था नेपाल वादोरियो सङ्घले राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, बोर्ड सदस्य अञ्जन धमला, पत्रकार निरञ्जन राजवंशी र स्थानीय जनप्रतिनिधिलाई पनि सम्मान गरेको थियो ।
उहाँहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मानपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी र ६५ केजी तथा महिलामा ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुला तौलसमूह र एकल कातामा प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगितामा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । एक प्रदेशबाट एक तौलसमूहमा समान ६ पुरुष तथा महिला गरी कुल १२ खेलाडी सहभागिता जनाउन पाउनेछन् ।
त्यसबाहेक एकजना प्रशिक्षक, एकजना व्यवस्थापक र रेफ्री रहनेछन् । प्रतियोगितामा हरेक विधामा पदक जित्ने पुरुष/महिला खेलाडी, बेस्ट फाइटर तथा शीर्ष तीनमा रहने टोलीलाई पुरस्कार प्रदान गरिनेछ ।