राममणि दाहाल
हेटौँडा, पुस २७ गते । राष्ट्रिय सभा सदस्यको रिक्त हुने पदमा बागमती प्रदेशमा १५ उम्मेदवारको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले सत्ता गठबन्धनमा रहेको सहित छ वटा राजनीतिक दलका गरी राष्ट्रिय सभा सदस्यका १५ उम्मेदवारको अन्तिम नामावली शुक्रबार प्रकाशन गरेको हो ।
प्रदेश निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले सोमबार राष्ट्रिय सभा सदस्य पदका लागि यस प्रदेशबाट उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका कुनै पनि उम्मेदवारले फिर्ता नलिएको जानकारी दिनुभयो ।
राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमध्ये बागमती प्रदेशमा महिला, अल्पसङ्ख्यक/अपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जनाका लागि निर्वाचन हुँदैछ । सत्ता गठबन्धनले भागबण्डा गरी नेपाली कांग्रेसबाट, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक एक जना उम्मेदवार बनाएका छन् ।
यसैगरी नेकपा एमालेबाट चारै क्षेत्रबाट चारजना, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन जना र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट चार जना उम्मेदवार रहनुभएको छ । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।
बागमती प्रदेशमा प्रदेश सभा सदस्यको मतभार पाँच हजार ३८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार चार हजार ५०३ गरी जम्मा १० हजार ३३३ मतभार कायम भएको निर्वाचन आयोगले जनाएको छ ।