• २३ पुस २०८१, मङ्गलबार

टिम बुद्धिचाल च्याम्पियनसिप : दोलखा र भक्तपुर फाइनलमा

blog

काठमाडौँ, पुस २६ गते । छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधिका लागि दोलखा चेस होम नेपाल र भक्तपुर जिल्ला बुद्धिचाल सङ्घबिच प्रतिस्पर्धा हुने भएको छ । 

नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी प्रतियोगिताको शुक्रबार सम्पन्न नकआउट चरणको पहिलो खेलमा दोलखाले मकवानपुर जिल्ला बुद्धिचाल सङ्घलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । फाइनलमा पुग्ने क्रममा दोलखाले मकवानपुरमाथि २–५ र १–५ को जित निकाल्यो । 

जसमा वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल र कृष्ण थापाबिचको खेल बराबरीमा सकिएको थियो । यस्तै सुश्रुत दहाल सिन्देश्वर दाशसँग हार्नुभयो भने मुहान नर्सिङ श्रेष्ठले सुदेन टुईटुईमाथि र सुजना लोहनीले अनुस्ना गौतममाथि जित हासिल गर्दै टिमलाई फाइनल यात्रा गराउनुभयो । 

नकआउट चरणको दोस्राे खेलमा भक्तपुर जिल्ला बुद्धिचाल सङ्घले र कोशी प्रदेश बुद्धिचाल सङ्घलाई पराजित गर्दै फाइनलमा दोलखासँगको भेट पक्का गरेको हो । सेमिफाइनलअन्तर्गत क्लासिकल चरण बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा गएको थियो । जसमा भक्तपुर जित हासिल गर्न सफल भयो । जित निकाल्ने क्रममा भक्तपुरले कोशी प्रदेशलाई ट्राइबेकरको चार वटै खेलमा पराजित गरेको थियो । 

क्लासिकल चरणमा भक्तपुरका युवा खेलाडी पुरुतोत्तम सिलवाल र कोशीका प्रकाशचन्द्र नेपाल तथा भक्तपुरका स्वर्णिम दुवाल र कोशीका मिसन दाहालबीचको खेल बराबरीमा सकियो । भक्तपुरका राजेश कक्षपति कोशीका सबिनचन्द्र घिमिरेसँग पराजित हुनुभयो भने अभिक शाहले कोशीका कृतिशारा अधिकारीमाथि जित निकाल्दै टिमलाई स्ट्यान्डर चरणमा बराबरी गर्दै खेललाई ट्राइबेकरमा लग्नुभएको थियो । 

ट्राइबेकरमा भक्तपुरका पुरुसोत्तम सिलवाल, विक्रम चोकामी, स्वर्णिम दुवाल र अभिक शाहले क्रमशः कोशीका प्रकाश चन्द्र नेपाल, सविन चन्द्र घिमिरे, मिसन दहाल र कृतिशारा अधिकारीमाथि जित निकाल्दै टिमलाई ४–० को जित दिलाउनुभयो । 

ललितपुरस्थित तुल्सिलाल स्मृती प्रतिष्ठानमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । राष्ट्रिय स्तरका उत्कृट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगितामा विजेता टिमले दुई लाख, उपविजेताले एक लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमले ४० हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रत्येक बोर्डमा प्रथम हुने चार जनालाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।