• ७ असार २०८१, शुक्रबार

माङ्सेबुङ इलामलाई अध्यक्ष कप उपाधि

blog

शेरबहादुर राई

ओखलढुङ्गा, पुस २७ गते । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय अन्तर स्थानीय तह अध्यक्ष कपको  उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ । फाइनलमा मानेभञ्ज्याङ गाउँपालिकालाई २–१ गोलले पराजित गर्दै माङ्सेबुङले  उपाधि जितेको हो ।

जितसँगै माङ्सेबुङले नगद पाँच लाखसहित साढे दुई तोला सुन र दुई सय तोला चाँदीले बनेको रनिङ शिल्ड साथै पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता मानेभञ्ज्याङ गाउँपालिकाले नगद तीन लाख सहित मेडल र प्रमाण–पत्र पुरस्कार प्राप्त गरेको छ । 

प्रतियोगिताको सेमिफानलिष्ट सिद्धिचरण नगरपालिका ओखलढुङ्गा र लालिगुराँस नगरपालिका तेह्रथुमलाई एक–एक लाख रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार वितरण गरिएको आयोजक मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो । 

कृषि पर्यटन र युवाहरुमा रोजगारी साथै नेतृत्व विकास गर्ने उद्देश्यले प्रदेशस्तरीय स्थानीय तह अध्यक्ष कप फुटबल खेल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष रुम्दालीको भनाइ छ । प्रतियोगितामा कोशी प्रदेशका ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, इलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका १८ वटा स्थानीय तहको सहभागिता रहेको आर्थिक संयोजक रामकुमार राईले जानकारी दिनुभयो । 

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक माङ्सेबुङका आयुष योङहाङ, सर्वाधिक गोलकर्ता माङ्सेबुङका एलन लिम्बू र उत्कृष्ट खेलाडीको उपाधि मानेभञ्ज्याङ गाउँपालिकाका टिम क्याप्टेन राजु राईलाई प्रदान गरिएको राईले बताउनुभयो । 

विजेतालाई कोशी प्रदेश खेलकुद समितिका सदस्य सचिव हंशराज वाग्ले, संविधान सभा सदस्य पूर्व सांसद यज्ञराज सनुवार, राष्ट्रिय गानका सर्जक ब्याकुल माइला (प्रदीपकुमार राई) लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।