काठमाडौँ, पुस २७ गते । एपिएफका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि नजिक पुग्नुभएको छ ।
शुक्रबार प्रिन्सले एपिएफका देवराज रानालाई २१–१०, २१–१२ ले हराउँदै आर्मीका प्रफुल्ल महर्जनसँगको फाइनल भेट पक्का गर्नुभएको हो । प्रफुल्लले पुलिस क्लबका विष्णु कटुवाललाई २१–१५, २१–१२ ले हराउनुभयो ।
यस्तै महिलातर्फको आर्मीकी रशिला महर्जनले आफ्नै क्लबकी अमिता गिरीमाथि २१–५, २१–१७ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाउनुभयो । फाइनलमा उहाँले अनुमाया राईसँग प्रतिस्पर्धा गर्नुहुनेछ । अनुले कस्तुरी कलेजकी सीमा राजवंशीलाई २१–१८, २१–१४ ले हराउँदै फाइनलमा स्थान बनाउनुभएको हो ।
लाखेपोखरी बौद्धस्थित स्पोर्ट्स हबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको अश्मेल (अखिल) शाहीले जानकारी गराएका छन् ।