• १४ मंसिर २०८१, शुक्रबार

जनता र राष्ट्रको पक्षमा संघीय संविधान कार्यान्वयन हुन बाँकिनै छ : नेता सिटौला

blog

नेपाली काँग्रेसका नेता एवम् कोशी प्रदेशका राष्ट्रिय सभाका साझा उमेदवार कृष्णप्रसाद सिटौला । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पाेखरेल

गाईघाट, पुस २७ गते । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् वर्तमान सत्ता गठबन्धनबाट कोशी प्रदेशका राष्ट्रिय सभाका साझा उमेदवार कृष्णप्रसाद सिटौलाले विगतमा भएको १२ बुँदे समझ्दारी अनुरुप जनता र राष्ट्रको पक्षमा संघीय संविधान कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।

नेता सिटौलाले शुक्रबार आयोजित उदयपुरको गाईघाटमा पालिकाका प्रमुख तथा उपप्रमुखसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा सो कुरा बताउनुभएको हो । उहाँले संघीयताको मूलमर्म र भावना अनुरुप केन्द्र, प्रदेश र स्थानीय तीनवटै तहले एकएक कार्यकाल पूरा गरेको भएपनि संघीयतामा बन्नुपर्ने आवश्यक कानुनहरु बन्न नसक्दा जनताको चाहाना अनुरुप देशमा सुशासन कायम हुन अझै नसकेको बताउनुभयो ।

"संसदमा सरकार गठन हुने अन्तिम विकल्प भएसम्म संसद विगठन हुन सक्ने संविधानको मूल मर्म विपरित दुई पटकसम्म संसद विगठन गरेर नेकपा एमालेका तत्कालिन प्रधानमन्त्री खड्गप्रसाद ओलीको अकर्मण्यताका कारण यो अहिलेको गठबन्धनको जन्म भएको हो", उहाँले भन्नुभयो । उहाँले संविधानको रक्षा गरी पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न १२ बुँदे समझ्दारी हुँदाका बखत रहनुभएका नेता त्रय पुष्पकमल दाहाल, शेरबहादुर देउवा र माधवकुमार नेपाल अहिले पनि एकै मोर्चामा हुने बताउनुभयाे । 

नेता सिटौलाले संघीयतामा जति वटा कानुनहरु बनेर अधिकारको बाँडफाड हुनुपर्ने हो त्यो हुन नसक्दा शिक्षा, स्वास्थ्य, प्रहरी प्रशासन अहिले पनि संघकै मातहतमा रहिरहनु राम्रो नभएकाे उहाँले बताउनुभयाे । 

शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न र संविधान बमोजिम अधिकारहरुको प्रत्यायोजन गर्न आफू राष्ट्रिय सभाको उमेदवार बनेको स्पष्ट पार्नुहुँदै नेता सिटौलाले गठबन्धनको आफ्नाे भोट सुरक्षित गर्न र पालिका प्रमुख तथा उपप्रमुखहरुसँगको परिचय गर्ने उद्देश्यले आफू यहाँ आएको बताउनुभयो । 

सो कार्यक्रममा उहाँसँगै आउनुभएका अर्का उमेदवार नेकपा माओवादीका चम्पा कार्कीले सशस्त्र विद्रोहका बेला आफूले एउटा अङ्गनै गुमाउनु परेको पीडा व्यक्त गर्नुहुँदै प्राप्त उपलब्धिको रक्षाका लागि राष्ट्रिय सभामा उमेदवारी दिएको बताउनुभयो ।