• ७ असार २०८१, शुक्रबार

धुलिखेलमा रेफ्री प्रशिक्षण कार्यक्रम हुने

blog

रेफ्री प्रशिक्षण तालिम सम्बन्धी जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनका सहभागि । तस्विर : गोरखापत्र

केदार तिमल्सिना 

बनेपा, पुस २७ गते । बागमती प्रदेशभित्र रहेका जिल्लाहरुमा रहेको फुटबलका जिल्ला रेफ्रीहरुको अभाव पुरा गर्ने उद्देश्यले फुटबल रेफ्री प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

बागमती फुटबल सङ्घको आयोजना तथा प्रदेश खेलकुद विकास परिषदको सहयोगमा अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा आगामी माघ २१ देखि २७ गतेसम्म काभ्रेपलाञ्चोकको धुलिखेलमा फुटबल रेफ्री प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएको हो । 

बागमती प्रदेश फु्टबल सङ्घले शुक्रबार धुलिखेलमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला स्तरीय रेफ्री कोर्ष अन्र्तगत क्याटागोरी–४ फुटबल रेफ्री प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष निरोज श्रेष्ठले रेफ्रीहरुलाई फुटबल सम्बन्धि आधारभूत सीप र प्रविधिको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले रेफ्रीहरुलाई व्यवहारिक र सैद्धान्तिक ज्ञानका साथै खेल मैदानभित्र र बाहिर कसरी प्रस्तुत हुने भन्ने तालिम समेत प्रदान गरिने बताउनुभयो । पत्रकार सम्मेलनमा सङ्घका उपाध्यक्ष बाबुराजा श्रेष्ठले नेपालभर जिल्ला तहमा फुटबल रेफ्रीहरुको अभाव रहेकोले प्रदेशभित्र अभाव रहेको रेफ्रीको अभाव पुरा गर्न तालिमको आयोजना गरिएको बताउनुभयो । 

सम्मेलनमा बागमती प्रदेश फुटबल सङ्घमा रसुवा र रामेछाप बाहेकका ११ वटा जिल्ला सदस्य रहेको जानकारी दिँदै रेफ्री प्रशिक्षणमा एउटा जिल्लाबाट तीन जनाका दरले ४० जना सहभागि गराइने आयोजक संस्थाले जनाएको छ ।

तालिमका लागि प्रदेश खेलकुद विकास परिषद्बाट पाँच लाख रुपियाँ सहयोग हुनेछ भने एक जना सहभागिबाट सात हजार पाँच सय रुपियाँ शुल्क लिईने सङ्घले जनाएको छ । सात दिनसम्म चल्ने तालिममा कुल दश लाख ६२ हजार पाँच सय रुपियाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।