• १६ असार २०८१, आइतबार

भारोत्तोलनमा जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान

blog

भारोत्तोलन प्रतियोगितामा प्रतिस्पर्धा गर्दै विद्या राई ।

काठमाडौँ, पुस २७ गते । जुनुमाया छन्त्याल र विद्या राईले २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । नेपाल प्रहरीका दुवैले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्नुभएको हो । 

मध्यपुर थिमीस्थित थिमी बैंक्युट सम्पन्न तीन दिने प्रतियोगिताको सिनियर महिला ७१ केजीमा जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजी भार वहन गर्दै ९२ केजीको कीर्तिमानमा सुधार गर्नुभयो । 

जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजीसहित स्न्याचमा ७३ केजी गरी जम्मा १६६ केजी भार वहन गर्दै स्वर्ण जित्नुभयो । सिनियर महिलाको ८७ केजीमाथि विद्याले क्लिन एन्ड जर्कमा कीर्तिमान रच्ने क्रममा ९२ केजी वजन उठाउनुभयो । 

यसअघि उहाँकै नाममा ९१ केजीको कीर्तिमान थियो । क्लिन जर्कमा ९२ केजीसहित स्न्याचमा ६५ केजी गरी कुल १५७ केजी तौल उठाउदै विद्याले स्वर्ण जित्नुभयो । प्रतियोगिताको पहिलो दिन प्रहरीकै कृष्णकला विष्ट र दिलिप यादवले पनि राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । 

नेपाल भारोत्तोलन सङ्घद्वारा आयोजित प्रतियोगिताको सिनियर महिला ८७ केजीमुनि प्रहरीकी जयन्ती श्रेष्ठ, ७६ केजीमा प्रहरीकी पूजा कुमाल र ८१ केजीमुनि प्रहरीकै तारादेवी पुन पहिलो हुनुभयो । 

युथको महिला ७१ केजीमा ललितपुरकी खुशी चौधरी तथा ८१ केजीमुनि कास्कीकी सिन्जल गुरुङले पहिलो स्थान हात पार्नुभयो । सिनियर पुरुषको १०२ केजीमा प्रहरीका सन्देश गुरुङ, १०९ केजीमुनि विशालसिंह विष्ट र १०९ केजीमाथि राजीव महर्जनले शीर्ष स्थान कब्जा गर्नुभयो । 

यस्तै जुनियर पुरुषको १०२ केजीमा एपीएफका सञ्जय यादव तथा १०९ केजीमुनि एपीएफकै रोजन तुलाधर पहिलो हुनुभयो । प्रतियोगिताको पुरुषमा प्रहरीका प्रकाश केसी तथा महिलामा कीर्तिमानधारी कृष्णकला उत्कृष्ट खेलाडी घोषित हुनुभयो । प्रतियोगितामा एक सय ६४ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।