• ५ जेठ २०८१, शनिबार

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको तयारी पूरा

blog

काठमाडौँ, पुस २७ गते । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि सहभागी टोलीले तयारी र खेलाडी छनोट सम्पन्न गरिसकेका छन् । 

प्रतियोगिताका खेलहरु मूलपानी, कीर्तिपुरस्थित त्रिवि मैदान र भैरहवास्थित सिद्धार्थ रङ्गशालामा हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानका अनुसार क्यानले त्रिवि मैदानमा फाइनलसहित सर्वाधिक १८ खेल सञ्चालन हुनेछ । यस्तै मूलपानीमा १७ र भैरहवामा ११ खेल हुनेछन् ।

प्रतियोगितामा तीन विभागीय र सात प्रदेशगरी १० टोलीको सहभागिता रहनेछ । पहिलो दिन शनिबार त्रिवि मैदानमा बागमती प्रदेश र नेपाल पुलिस क्लब, मूलपानीकमा कोशी र मधेश प्रदेश तथा भैरहवामा लुम्बिनी र गण्डकी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।

सबै टोलीले राउन्ड रोविन लिगमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ । प्रतियोगिताको शीर्ष चारमा रहने टोलीबिच आगामी चैत र वैशाखमा एलिट ट्रफी खेलाउने क्यानले जनाएको छ ।