• ६ जेठ २०८१, आइतबार

मनाङका सात गाउँलेले मनाए नयाँ वर्ष

blog

मनाङ ङिस्याङ गाउँपालिकाका सात गाउँलेले शुक्रबार भव्यताका साथ होलताङपा ल्होसार (डुग–ल्हो) मनाए । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, पुस २७ गते । मनाङ
 ङिस्याङ गाउँपालिकाका सात गाउँलेले शुक्रबार भव्यताका साथ होलताङपा ल्होसार (डुग–ल्हो) मनाएका छन् ।मनाङ समाजसेवा समितिको आयोजनामा काठमाडौं स्वयम्भूस्थित मनाङ गुम्बामा उनीहरुले होलताङपा ल्होसार मनाएका हुन् ।

होलताङपा ल्होसार मनाङका सात गाउँलेले मात्र मनाउँदछन् । यो ल्होसारलाई उनीहरुले नयाँ वर्षका रुपमा नाचगान गरी, मीठोमसिनो खाएर मनाएका हुन् ।

‘‘ल्होसारमा एकआपसमा शुभकामना लिनेदिने तथा सुखशान्ति तथा समृद्धिको कामना गर्ने गरिन्छ, यो केवल सात गाउँलेको मात्र ल्होसार हो ।,’’ ङिस्याङ खाङ्सारका युवा पर्यटन व्यवसायी विनोद गुरुङले भन्नुभयो ।

उहाँले मनाङका सात गाउँ भन्नासाथ साविकका भ्राका, खाङ्सार, मनाङ, पिसाङ, टङ्कीमनाङ, घ्यारू र नगवाल सात गाउँ विकास समितिलाई जनाउने सात गाउँलेको मात्र ल्होसार भएको जानकारी दिनुभयो ।


‘‘जाडो चिसो बढेसँगै हिउँद याममा मनाङीहरु जाडो छल्न सहर बस्ने गर्छन् । अधिकांश मनाङीको काठमाडौंमै बसोबास छ । हामी धेरैजसो सातगाउँले काठमाडौंमै भएकाले मनाङमा मनाउनुपर्ने नयाँ वर्ष काठमाडौंमा मनाएका हौं ।,’’ पिसाङका ८० वर्षीय याङ्डु गुरुङले जानकारी दिनुभयो ।

विशेष गरी माथिल्लो मनाङ यति बेला सुनसान छ । स्थानीय कृषकबाहेक सबै जाडो छल्न बेँसी तथा अन्य जिल्ला झरिसके । घरकुरुवा र गोठालमा मात्र गाउँमा भएकाले चाडपर्व सहरमै मनाउने गरेको उहाँको भनाइ थियो ।