चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २७ गते। ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा दुई छुट्टाछुट्टै घरमा आगलागी हुँदा साढे २३ लाख रुपियाँ बराबरको क्षति भएको छ।
फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका स्थानीय प्रेमबहादुर लिम्बू र रामबहादुर लिम्बूको घर आगलागीबाट ध्वस्त हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबार बिहान घरमा आगलागी भएको हो। सो आगलागीबाट २३ लाख ८० हजार ४०० रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो।
प्रनाउ लिम्बूका अनुसार ढुङ्गा, माटो र काठले बनेको खर (फुस) को छाना भएको लिम्बू द्वयको घर जलेर पूर्णरुपमा रुपमा नष्ट भएको हो।
आगलागीबाट नगद एक लाख ४५ हजार रुपियाँसहित सुनचाँदीका गरगहाना, खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका सामग्री जलेर नष्ट भएको थियो। यता विद्युत सर्ट भएर घर आगलागी भएको बताइएको छ।