• २ जेठ २०८२, शुक्रबार

हामीलाई सिध्याउने षड्यन्त्र भइराखेको छ : माधवकुमार नेपाल

blog

माधवकुमार नेपाल ।

काठमाडौं, पुस २७ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ।

अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिध्याउन खोजिरहेको आरोप लगाउनुभएको हो। उहाँले त्यस्ता षड्यन्त्रलाई साथ दिनेहरु क्रान्तिकारी हुनै नसक्ने बताउनुभयो। 

पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गठबन्धनको भर परेर अघि नबढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो। 

आफ्नै शक्ति बलियो बनाउने र एक्लै चुनाव जित्ने आँटका साथ पार्टी अघि बढ्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो। उहाँले अरु पार्टीको सामु माग्ने भएर नभई दिने हैसियतको पार्टी बनाउनुपर्ने भएकाले त्यसका लागि सिङ्गो पार्टी पङ्क्ति परिचालित हुन सचेत गराउनुभयो।

अध्यक्ष नेपालले भन्नुभयो, ‘‘हामी देखिरहेका छौं–हाम्रो पार्टीलाई यही पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजिरहेका छन्। हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन्। अनि तिनको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दछ ? हुन सक्दैन। चुनौती छन्। आफ्नो शक्ति बनाउने हो। आफ्नो शक्तिको आधारमा सङ्गठन विस्तार गरेर चुनावमा एक्लै जित्ने आँट गरेर चल्ने हो। अहिलेदेखि नै पार्टी निर्माणको अभियानमा, सदस्यता वितरणको अभियानमा, सिङ्गो पार्टी जुट्ने कुरामा लाग्नुहोस्।’’

अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले चलखेल गरिरहेको जिकिर गर्दै त्यसका विरुद्ध पनि जुध्नुपर्ने बेला आएको बताउनुभयो।