• ६ माघ २०८१, आइतबार

होटलको आडमा हुने यौन विकृति बन्द गरिने

blog

नगरस्तरीय सुरक्षा संयन्त्रको बैठकमा उपस्थितहरु । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, पुस २७ गते ।
होटल तथा गेष्ट हाउसको आडमा हुने गरेको यौन विकृति रोक्न धनुषाको मिथिला नगरपालिकाले कडा कदम चाल्ने भएको छ । होटलमा महिला कामदार राख्ने तथा गेष्ट हाउसमा कोठा उपलब्ध गराएर यौन व्यवसाय सञ्चालन हुने गरेको जनगुनासो बढेपछि नगरपालिकाले त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्न लागेको हो ।

नगरस्तरीय सुरक्षा संयन्त्रको बसेको बैठकले होटल, गेष्टहाउस र डान्सबारको आडमा अवैध यौनजन्य गतिविधिलाई नियन्त्रण गर्ने निर्णय भएको मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले बताउनुभयो ।

उहाँले अनुगमन गरी विकृतिजन्य क्रियाकलाप सञ्चालनमा सक्रिय रहेको पाइएमा त्यस्ता होटल तथा गेष्ट हाउसलाई कानुनअनुसारको कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले होटल खोलेर यौन विकृति फैलाउन व्यवसायीसँगै विकृति फैलाउने गरी होटललाई भाडा दिने घरधनीलाई पनि कारवाही गरिने बताउनुभयो ।

नगर क्षेत्रमा यौन विकृति बढेको भन्दै त्यसलाई निर्मूल पार्न स्थानीयले बुधबार नगरप्रमुख, इलाका प्रहरी कार्यालय र वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । यौन विकृतिले गाउँ समाजमा नराम्रो असर परेकाले तत्कालै बन्द गराउन स्थानीयले माग गरेको ज्ञापनपत्रमा उल्लेख छ ।