• १४ मंसिर २०८१, शुक्रबार

लेखा अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प

blog

शेरबहादुर राई 

ओखलढुङ्गा, पुस २७ गते । ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा लेखा अधिकृत नहुँदा विकास निर्माणदेखि पालिका सञ्चालनमा समस्या भएको छ । विगत छ महिनादेखि लेखा अधिकृत नहुँदा पालिकाको आर्थिक गतिविधि ठप्प बनेको हो । 

आर्थिक कारोबार ठप्प हुँदा विकास निर्माण योजना प्रभावित भएका छन् भने कर्मचारी र शिक्षकले तलब पाएका छैनन् । लेखा कर्मचारी व्यवस्थापनको लागि प्रदेश र सङ्घीय सरकारसँग पटकपटक पहल गर्दासमेत पदपूर्ति नहुँदा पालिका सञ्चालनमा समस्या आएको गाउँपालिका अध्यक्ष उत्तम राईले बताउनुभयो । 

आर्थिक कारोबारको सम्पूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने लेखा अघिकृत नहुँदा छ महिनादेखि लेखासम्बन्धी कार्यालयको काम, लामो समय यता कर्मचारी र शिक्षकलाई तलब निकासीलगायतको काम हुन नसकेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ । "लेखा कर्मचारी नहुँदा निकै समस्या भएको छ । योजनाका काम ठप्प हुने अवस्था छ । नयाँ योजना सुरु गर्न पेश्की दिन, सम्पन्न भएका योजनाको भुक्तानी गर्नदेखि कर्मचारी, शिक्षकलाई तलब खुवाउनसमेत समस्या भइरहेको छ," अध्यक्ष राईले भन्नुभयो, "म आफैँ प्रदेश र सङ्घ सरकारका सम्बन्धित मन्त्रालयमा पुगेर माग गरेँ तर उहाँहरुले विभिन्न बहाना देखाएर टार्नुहुन्छ । अझै पनि लेखा अधिकृत ल्याउन हामीले पहल गरिरहेका छौँ ।"

 माथिल्ला निकायले स्थानीय तहका समस्या नबुझ्दा समस्या भएको उहाँको भनाइ छ । पालिकामा लेखा कर्मचारी नहुँदा वडा कार्यालयहरु पनि प्रभावित बनेका छन् । समयमै रकम निकासा नहुँदा विकास निर्माणका कार्य अघि बढ्न नसकेको मोलुङ गाउँपालिका–२ रामपुरका वडा सचिव योगेश्वर दाहालले बताउनुभयो । समयमा तलब नपाउँदा शिक्षक र कर्मचारीहरु पनि समस्यामा परेको शिवदूती माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार ढकालले बताउनुभयो । 

समयमा आर्थिक कारोबार नहुँदा शिक्षकले तलब नपाएको, विद्यालयमा आउने अन्य शिर्षकका बजेट भुक्तानी नभएको ढकालको भनाइ छ । कतिपय बाहिरी जिल्लाबाट आएर मोलुङ गाउँपालिकामा कार्यरत शिक्षक र कर्मचारीलाई तलब नपाउँदा खर्च धान्न समस्या भएको छ । गाउँपालिकामा कार्यरत लेखापाल लोकसेवामार्फत लेखा अधिकृतमा नाम निकालेर अन्यत्र गएपछि आर्थिक कारोबार ठप्प भएको हो ।