• १९ असार २०८१, बुधबार

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

blog

रवीन्द्र उप्रेती

बर्दिबास, पुस २७ गते । शीतलहरको प्रकोप बढ्दै गएपछि बर्दिबासका ज्येष्ठ नागरिक तथा वञ्चितिकरणमा परेका समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । गौशाला नगरपालिका-९ ले वडाका ४४३ जना ज्येष्ठ नागरिक, दलित, अपाङ्ग तथा एकल महिलालाई सिरक वितरणसहित न्यानो सम्मान गरेको वडाध्यक्ष बद्रिप्रसाद सिंह दनुवारले बताउनुभयोे । 

वडा ९ को विषहरपुर गाँउस्थित वडा कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा ज्येष्ठ तथा विपन्न समुदायलाई सम्मान गर्नुका साथै वडाध्यक्ष दनुवारले डवल साइजको सिरक वितरण गर्नुभएको हो। महोत्तरीका दक्षिणवर्ति भेगमा साता दिनदेखि चलेको शीतलहरबाट विपन्न समुदाय प्रभावित हुँदै आएपनि संस्थागत रुपमा न्यानो कपडा वितरण गर्ने गौशालाको ९ नं वडा पहिलो हो । 

वडा सचिव उमाकान्त महतोले वडाको बजेटबाट कट्टा हुनेगरि प्रति सिरक एक हजार ५० रुपियाँको दरले ४ लाख ६५ हजार मूल्यबराबरको फाइवर सिरक वितरण गरेको जनाउनुभयो । 

सिरक पाएपछि शीतलहरबाट जोगिन राहत मिलेको गरिबी तथा विपन्न समुदायले जनाएका छन् । वडा नं ९ विषहरपुरका ७३ वर्षिय देवकरण सिंहले ५ जना नातिनातिनासहित ९ जनाको परिवारलाई जाडो अभिशाप बनेको बताउनुभयो । गरिबीका कारण आलोपालो परालको गुन्द्री ओढेर रात बिताउनु परेको उहाँले पीडा सुनाउनुभयो । 

"वडाले दुई चारजना ढाक्ने सीरक दिएपछि यसपालाको जाडोमा ज्यान जोगिने आशा पलाएको छ," उहाँले भन्नुभयो । वडाका विपन्न तथा वञ्चित समुदायको शिक्षा र स्वास्थ उपचारमासमेत वडा तहबाट योजनावद्ध ढङ्गमा सेवा दिँदै आएको वडाध्यक्ष सिंहले बताउनुभयो ।