बेनी समाचारदाता
म्याग्दी (बेनी), पुस २७ गते । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने २१२ ग्राहकको लाइन काटेको छ । वर्षौंसम्म विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर पुनः जडान शुल्कसहित २४ लाख ८० हजार २१६ रुपियाँ बाँकी बक्यौता असुल गरिएको कार्यालयले जनाएको छ । लाइन काटिनेमा दुई वर्षदेखि १० वर्षसम्म महसुल नबुझाउने ग्राहक छन् ।
प्राधिकरणको बक्यौता असुली अभियान अन्तर्गत असोजयता सो सङ्ख्यामा ग्राहकको लाइन काटिएको केन्द्र प्रमुख प्रताप बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो समय विद्युत् महसुल नबुझाउने, बुझाउन अटेर गर्ने ग्राहकको लाइन काट्ने अभियान कडाइसाथ अगाडि बढाएका छौँ ।” उहाँका अनुसार कार्यालयको सेवा क्षेत्रभित्र अझै पनि दुई वर्षदेखि ९/१० वर्षसम्म विद्युत् महसुल नबुझाउने ४३९ ग्राहकबाट २४ लाख ४८ हजार ४८० रुपियाँ बक्यौता उठाउन बाँकी छ ।
कार्यालयका अनुसार बजार क्षेत्रमै बिजुली चोरी गरेको पनि फेला परेका छन् । केन्द्र प्रमुख बरालले भन्नुभयो, “मिटर बाइपास गरेर बिजुली चोरेको भेटियो । बजारका प्रतिष्ठित व्यक्तिको घरमा पनि बिजुली चोरी गरेको फेला पा-यौँ । नियम अनुसार जरिबाना असुल ग-यौँ । चोरी गर्ने व्यक्तिले गल्ती महसुस गरे ।” बेनी बजारमै बिजुली चोरी फेला पर्नु अचम्मको विषय भएको उहाँले बताउनुभयो ।
बिजुली चोरी गरेका छ ग्राहकबाट चार लाख पाँच हजार ९७३ रुपियाँ जरिबाना शुल्क सङ्कलन भएको लेखा शाखा प्रमुख श्याम रानाले जानकारी दिनुभयो । बसाइँसराइ, विदेश पलायन र प्राकृतिक विपत्तिका कारण कतिपय घर खाली भएकाले बक्यौता रकम उठाउन चुनौती भएको लेखा शाखा प्रमुख रानाले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्र अन्तर्गत हाल २२ हजार १३० ग्राहक छन् ।