• ३० वैशाख २०८१, आइतबार

असफलले गरे श्रीमतीको हत्या, सासू र छिमेकी घाइते

blog

राधा लुइटेल 

फिदिम,पुस २६ गते । आफ्नै श्रीमानले खुकुरी प्रहार गर्दा पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेकी ३५ वर्षीय गोमा फियाकको ज्यान गएको छ ।

बिहीबार साँझ ८ बजे तुम्वेवा ४ स्थित घरबाट मिक्लाजुङ ३ मा रहेको ससुराली घर पुगेका ३५ वर्षीय असफल कुरुम्वाङले खुकुरी प्रहार गर्दा फियाकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक (सूचना अधिकारी) सुमित कुश्वाहाले जानकारी दिनुुुभयो ।

उहाँका अनुसार खुकुरी प्रहारबाट हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छिमाया फियाक पनि घाइते हुनुभएको छ । घाइतेहरुलाई उपचारका लागि दमकतर्फ पठाइएको  स्थानीय वडाध्यक्ष जीवनहाङ फियाकले बताउनुभयो ।

गोमा मिक्लाजुङ ३ स्थित माइती घरमै बस्दै आउनुभएको थियो । यसैविच ससुराली घर आइपुगेका कुरुम्वाङ र विवाद मिलाउन बसेका बखत खुकुरी प्रहार भएको स्थानीयले जनाएका छन् ।  कुरुम्वाङले श्रीमती, सासू र छिमेकीलाई हतियार प्रहार गरेका थिए । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक दिवस कुँवरको कमाण्डमा प्रहरी टोली घटनास्थल गएको थियो । यस्तै, इलाका प्रहरी कार्यालय रबि बाट समेत प्रहरी टोली परिचालन भएको कुशवाहले बताउनुभयो ।

श्रीमतीको हत्यापश्चात कुरुम्वाङ फरार रहेको र खोजीका लागि स्थानीय र प्रहरी खटेको बताइएको छ । यसअघि २०७६ साल जेठ ५ गते मिक्लाजुङ ३ आरुबोटेमै एक व्यक्तिले ९ जनालाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।