• २३ पुस २०८१, मङ्गलबार

नागरिक उन्मुक्ति पार्टीको पहिलो महाअधिवेशन : समुदायबीच सद्भाव हुनुपर्ने

blog

नागरिक उन्मुक्ति पार्टीको पहिलो महाअधिवेशन उद्घाटन समारोह ।

एकिन्द्र  तिमिल्सेना

टीकापुर, पुस २६ गते। नागरिक उन्मुक्ति पार्टीको पहिलो महाअधिवेशन टीकापुरमा सुरु भएको छ। अधिवेशनलाई  सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले १३६ जातजाति भएको नेपालमा सबैका अधिकारलाई संविधानले स्वीकार गरेको अवस्थामा समुदायबीच सद्भाव हुनुपर्ने बताउनुभएको छ।

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले मुलुक समृद्धिको बाटोमा अघि बढेको बेला गणतन्त्र संस्थागत गर्न, सुशासन र सामाजिक रूपान्तरण का लागि महाधिवेशनले सहयोग पुग्ने अपेक्षा गर्नुभयो। 

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले कारागारमा जन्मिएको पार्टीले राजबन्दी रेशमलाल चौधरीको संरक्षकत्वमा छोटो समयमा राम्रो उपलब्धि हासिल गरेको र बन्द सत्रले सर्वसम्मत चुनेको व्यक्ति अध्यक्ष हुने घोषणा गर्नुभएको छ। 

कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त रावतले पुराना दलले राम्रो काम गरे नागरिक उन्मुक्ति लगायतका नयाँ दलको स्थापना नहुने बताउनुभयो। 

महाधिवेशनमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल, भारतीय जनता पार्टीका प्रतिनिधि उमाशंकर मिश्र, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपाल, आदिवासी समन्वय मञ्च झारखण्डकी अध्यक्ष ममता कुजुर उरावले शुभकामना दिनुभयो।

पार्टीले महाधिवेशनको नारा ‘भौगोलिक साँस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवाद प्रतिस्थापनका लागि महाधिवेशन’ भन्ने तय गरेको छ। महाधिवेशनमा देशका विभिन्न जिल्लाबाट आठ हजार प्रतिनिधि टीकापुरमा भेला भएका सो पार्टीले जानकारी दिएको छ। 

२०७२ साल भदौमा टीकापुरमा भएको घटनाका दोषीका रुपमा रेशमलाल चौधरी जेलमा रहेका बेला आफू संरक्षक रही श्रीमती रञ्जिता श्रेष्ठको नाममा २०७८ फागुनमा स्थापना गरेको पार्टीको यो पहिलो महाधिवेशन हो। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पुस २६ गते सुरु भएको अधिवेशन तीन दिनसम्म चल्नेछ।