काठमाडौँ, पुस २६ गते । एपिएफका प्रिन्स दाहाल र पुलिस क्लबका विष्णु कटुवाल प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फ क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । दाहालले एपिएफकै सुजन थापालाई २१–११, २१–१० ले र कटुवालले स्पोर्टस् हबका सुनिल कार्कीलाई २१–७, २५–२३ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्नुभएको हो ।
बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हबको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ अन्तिम आठमा प्रवेश गर्नेक्रममा पुलिस क्लबका सुनिल जोशीले आर्मीका डेभिड थापा मगरलाई २१–११, १७–२१, २१–१४, आर्मीका कबिर केसीले पुलिसका जीवन आचार्यलाई २१–९, १७–२१, २१–१६, एपिएफका देवराज रानाले पुलिसका अभिक श्रेष्ठलाई २१–११, २१–१२, एपिएफका अनिल मल्लले पुलिसका दीपक बोहरालाई २१–१६, २४–२२, आर्मीका प्रफुल्ल महर्जनले एपिएफका भोज बहादुर गुरुङलाई २१–१८, २१–१५, नखिपोटका विवेक चौधरीले एपिएफका विजित थापा मगरलाई २३–२१, २१–१३ ले पराजित गर्नुभयो ।
आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको महिला एकलतर्फ नेपाल पुलिसकी निता लम्साल र आर्मीकी अमिता गिरीले पनि अन्तिम आठमा स्थान बनाउनुभयो । लम्सालले एपिएफकी रिना तामाङलाई २१–१०, २१–१२ र गिरीले एपिएफकी निकिता लामाबाट वाक ओभर प्राप्त गर्नुभएको हो ।
यस्तै आर्मीकी शेस्ना श्रीपालीले बालकुमारी रिमिक्सकी श्रीया बज्राचार्यलाई २१–१०, २१–११, कस्तुरी कलेजकी सीमा राजवंशीले आर्मीकी बिस्ना विष्टलाई २१–१४, २१–१२, एपिएफकी शोभा गौचनले देवी नगरकी प्रिया गौडलाई २१–७, २१–१५, आर्मीकी रिहाना शेरचनले बालकुमारी रिमिक्सकी कृषा श्रेष्ठलाई २१–१३, २१–८ र आर्मीकै अनुमाया राईले पुलिस क्लबकी सुष्मा श्रेष्ठलाई २१–११, २१–१० ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्नुभएको हो ।
शीर्ष २० वरीयता बाहेकको पुरुष युगलतर्फको खेलमा युनिटका अनिष गुरुङ र प्रमिश श्रेष्ठको जोडी, देवी नगरका हेमन्त ऐर र बविश थापाको जोडी, एपिएफका भोज बहादुर गुरुङ र सन्तोष पनेरुको जोडी, नवलपुरका अक्षय क्षेत्री र चितवनका बिद्धवान गुरुङको जोडी, आकाश जोशी र रमेश ठकुरीको जोडी, स्पोर्टस् हबका अभिषेक गुरुङ र निश्चल खत्रीको जोडी, धादिङका एल ठकुरी र देवी नगरका आर ठकुरीको जोडी, एपिएफका विशाल प्रधान र सुजन थापाको जोडी तथा स्पोर्टस् हबका सुनिल कार्की र विशाल तामाङको जोडी पनि आफ्ना प्रतिद्वन्द्वीको पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउनुभएको छ ।